कोरोना भाइरसबाट एक हजार १२६ नेपालीले ज्यान गुमाए

ओकेखबर संवाददाता ९ कार्तिक २०७७, आईतवार १४:०१ मा प्रकाशित ( साल अघि) ६२५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट साउदी अरबमा थप एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।

यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।

शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ ।


सम्बन्धित खबरहरु