फेसबुकले स्मृतिमा नदेखाउने ती दसैं

७ कार्तिक २०७७, शुक्रबार १०:०४ मा प्रकाशित ( साल अघि) ५६१ पाठक संख्या

दसैं नजिकिँदै जाँदा धेरैका फेसबुकका भित्ताहरू दसैं मनाएका पुराना तस्वीरहरूले रङ्गीन देखिन थालेका छन् । कोरोना महामारीको त्रासका कारणले यस वर्ष गाउँ सहर सबैतिर दसैंको रौनक खासै देखिएको छैन् । तर पनि सामाजिक सञ्जालमा शुभकामनाका सन्देशहरू आउन थालिसकेका छन् । अहिले धेरैका फेसबुकका भित्ताहरू दसैं स्मृतिमा रङ्गीन भइरहेको देख्दा म ती सुदूर स्मृतिमा पुग्छु जुन स्मृति केवल मनका भित्ताहरूमा सजिएर रहेका छन् ।

जब दसैं आउँछ, प्रकृतिले पनि दसैंको अनुभूति दिलाउँछ । जब माटोबाट अनौठो सुगन्ध आउँछ, खेतमा पहेँलै झुलेका धानका बालाहरूले दसैंको आभास दिन्छ तब म पूर्वस्मृतिहरू केलाएर असीम आनन्द लिन्छु । त्यतिबेला अहिलेझैँ इन्टरनेटको जमाना थिएन ताकि शुभकामनाका तयारी तस्वीर वा भिडियोहरू फरवार्ड गर्न मिलोस् । सहरबाट किनेर ल्याइएका दसैंको शुभकामना लेखिएका पोस्टकार्डका पछाडि सायरी लेखेर साथीहरूलाई उपहार दिइन्थ्यो । सम्झन्छु, ती पोस्टकार्डहरू अहिले डिजिटल माध्यमबाट आउने शुभकामनाभन्दा कैयौँ गुणा प्रिय थिए ।

 

दसैं आउनासाथ गाउँघरमा बेग्लै खालको वातावरण बन्थ्यो । भरियालाई भारी बोकाएर काँधमा रेडियो घन्काउँदै लाहुरेहरू गाउँ फर्कन्थे । केटाकेटीदेखि बुढाबुढीसम्म बाटो खन्ने काममा रमाउँथे, बर्षामा पहिरोले बिगारेका र झारपातले भरिएका ठुला बाटोदेखि ससाना गारेटोहरू पनि चिटिक्क सजिएर दसैंको स्वागत गर्थे । घर पोत्नका लागि माटो खन्न जाने महिलाहरूको ताँती देखिन्थ्यो, कमेरो र गेरुले पोतेर घरका भित्ताहरू चिटिक्क पारिन्थ्यो । दसैंलाई सबैभन्दा विशेष बनाउँथ्यो पिङले । गाउँको चौतारीमा हालिएको लिङ्गे पिङ होस् या रोटे पिङ जसले दसैंको उमङ्गमा रौनक थप्थ्यो ।

 

केटाकेटी र युवायुवती जब पिङमा चढेर चचहुककककई गर्दै रनवन थर्काउँथे तब घरघरमा दसैं आउँथ्यो । रोटी पकाउनका लागि आधा रातदेखि ढिकीमा ढुक ढुक गर्दै पिठो कुटेको आवाजले निद्रा बिथोल्थ्यो र रोटी पकाउँदा गाउँको हावामा मीठो वास्ना प्रवाहित हुन्थ्यो । दसैँ नजिकिदैँ गर्दा हामी केटाकेटीलाई भने एकतिर घाँस जम्मा गर्ने चटारो पथ्र्यो भने अर्कातिर पिङ खेल्न जान हतारो हुन्थ्यो । हामी एक एक गरेर दसैँका हरेक गतिविधिबाट आनन्द लिन्थ्यौँ जुन आजको डिजिटल युगमा हुर्केका बच्चाहरू वञ्चित छन् ।

 

स्मृतिमा सजिएका यी सुन्दर दृश्यहरू म अचेल स्मृतिकै एल्बम पल्टाई पल्टाई हेर्ने गर्छु र सोच्ने गर्छु । सामाजिक सञ्जालका भित्ताहरूमा सजिने स्मृतिभन्दा मनको भित्तामा सजिने स्मृतिंहरू प्रिय हुने रहेछन् जसलाई कहिल्यै फेसबुकले स्मृतिमा देखाउँदैन तर हृदयले कहिल्यै विस्मृतिमा पुराउँदैन ।

लेखक सावित्रा पाण्डे काफ्ले सहित्यकार तथा समालोचक हुन् ।


सम्बन्धित खबरहरु