आज फूलपाती, यस्तो छ शास्त्रीय मान्यता

सुजन तिमल्सिना ७ कार्तिक २०७७, शुक्रबार ०७:१७ मा प्रकाशित ( साल अघि) ८५३ पाठक संख्या

आज नवरात्र अन्तरगतको सातै दिन अर्थात सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । शास्त्रमा बताइए अनुरूप;-
कदली दाडिमी धान्या हरिद्रा मानकं कचु ।
बिल्वशोकौ जयन्ती च विज्ञेया नवपत्रिका।।

 

अर्थात् आजको दिन केराको बोट, दारिम, धानको बाला , हलेदो, मानक, कचु, वेलपत्र, अशोक, जयन्ती र उखुँलगायतका लहरा पात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ‘फूलपाती’ भित्राइन्छ अतिआवश्क वस्तु हरू जोरजाम गरि साँझ घाम अस्ताउने बलामा फुलपाती भित्र्याइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष साताैं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता।।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।अर्थात
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।

 

नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्‍याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन पनि छ।

 

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमी देखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

 

राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई, इलामको पाथीभरा र भुटनदेवीलगायतका मठ-मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।
यसपालि फुलपाती भित्र्याउने उत्तम साईत दिउँसो १ बजेर ३० मिनेटमा रहेको छ ।


सम्बन्धित खबरहरु