पाकिस्तानमा टिकटकमाथिको प्रतिबन्ध पुनः खुकुलो, यस्ताे छ नियम

ओकेखबर संवाददाता ५ कार्तिक २०७७, बुधबार ०८:४६ मा प्रकाशित ( साल अघि) ५०४ पाठक संख्या

एजेन्सी । टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको पाकिस्तानले अहिले फेरि खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिबन्ध लगाइको दश दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।

पाकिस्तानका सरकारी अधिकारीहरुले पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मुस्लीम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लङ्घन भएको र मुस्लीम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत् भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले ९ अक्टोबरदेखि पाकिस्तानमा टिकटक प्रतिबन्ध लगाएको थियो । तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उछृङ्खल नहुने किसिमका भिडियोहरु भने शेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिबन्धात्मक व्यवस्था सहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको जनाइएको छ ।


सम्बन्धित खबरहरु