हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योग सुचारु

ओकेखबर संवाददाता २८ आश्विन २०७७, बुधबार १५:५३ मा प्रकाशित ( साल अघि) २४४ पाठक संख्या

कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका १ सय ११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।

लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताइएको छ । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेसिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।

२० मंसिर २०२० मा स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब १ हजार ८ सय ८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको बताइएको छ । सो औद्योगिक क्षेत्रमा निजीक्षेत्रको झन्डै पाँच अर्ब ५० करोड लगानी छ भने सरकारी लगानी ९० करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

सो औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गाको सम्झौता गरी १३ वटा आफ्नो प्रशासकीय भवनको निर्माणको कार्यलाई तीव्रता दिइएको आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरी उद्योग सञ्चालनका लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताए ।


सम्बन्धित खबरहरु