निजीका शिक्षक–कर्मचारीले पाएनन् तलब

ओकेखबर संवाददाता २२ आश्विन २०७७, बिहीबार १३:१७ मा प्रकाशित ( साल अघि) ३०३ पाठक संख्या

झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् ।

मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु०ले अडान लिएको छ ।

उता विद्यालय सञ्चालकहरुको नेतृत्व गरिरहेका प्याब्सन र एन–प्याब्सनले विद्यालय नै कोरोना कहरले बन्द भएको अवधिको तलब दिन असमर्थता व्यक्त गरिरहेका छन् ।

दुवै पक्षबीच पटकपटक अनौपचारिक छलफल भए । तर निकास निस्किएको छैन । प्याब्सन झापा र इस्टु झापाबीच शिवसताक्षीको दुधेमा आज भएको औपचारिक वार्ता बिनानिष्कर्ष टुङ्गियो ।

इस्टुका झापा अध्यक्ष होमराज खतिवडाले दशैँ सङ्घारमा आइसक्दा पनि श्रम गरिरहेको विद्यालयबाट आधा वर्षकै तलब नपाउनु त्यसबाटै परिवारको भरणपोषण गरिरहेका शिक्षक तथा कर्मचारीका लागि मार्मिक समस्या भएको बताए ।

झापामा ४०० निजी विद्यालय र त्यसमा करिब पाँच हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् । ती सबै विद्यालयले कोभिड–१९ का कारण चैतमा बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब दिएका छैनन् । जम्मा ११४ वटा विद्यालयले फागुन र माघ महिनाको समेत तलब नदिएको खतिवडाले बताए ।

इस्टुका जिल्ला अध्यक्ष खतिवडाले ६ महिनाको तलब अहिले एकैपटकमा दिन नसक्ने भए एक महिनाको तलब र दशैँ खर्च तत्काल दिन र बाँकी तलब क्रमशः दिँदै जान आग्रह गर्दासमेत विद्यालय सञ्चालक नमानेको बताए ।


सम्बन्धित खबरहरु