जातिय विभेद : एक अनुभव

शोभा सापकोटा १६ आश्विन २०७७, शुक्रबार ०९:४२ मा प्रकाशित ( साल अघि) ९७१ पाठक संख्या

मलाई यो जातभातमा कुनै विश्वास लाग्दैन न कुनै धर्ममा जातभातको कुरा लेखिएको छ, न कुनै मठमन्दिरमा राखिएका देवताहरुले मलाइ उपल्लो जातिले मात्र पुजापाठ गर्नु तल्लो जातिले होइन भनेर बोलेका नै छ्न् । तैपनी हामी किन बुझ्दैनौ जातपात मानवनिर्मित तथ्य हो भन्ने कुरालाई ?

 

जातिय विभेदलाइ मैले नजिकबाट नियाल्ने मौका पाइन, किनकी म तथाकथित बाहुन समुदायबाट प्रतिनिधित्व गर्ने पात्र हो। सानोमा गाउँघरमा पनि तल्लो जात भनेर व्यवहार गरिने समुदायबाट मेरो घर अलिक टाढै पर्ने भएकोले नजिकबाट नियाल्ने मौका पाइन। जसको कारण साँच्चिकै पीडा बुज्ने अवसर पाइँन । अलिक बुज्ने अवस्थामा मैले दलित भनेर यो समाजले सम्बोधन गर्ने समुदायमै बस्ने वातावरण पाए। जसमा मेरो आफ्नै फुपुदिदिको घरमा म २ बर्ष बसेको थिए ।

 

घरबाट अलिक टाढा थियो स्कुल । गाउँ त पुरै ब्रहामण थियो। तर स्कुल जादा पुरै दलित समुदाय । जुन पर्बतको बिहादि गाउँपालिका अन्र्तगत शालिग्राम वार्ड (माझ गाउँ भनेर चिनीएको छ) मा पर्दछ। मलाइ लाग्छ त्यो स्कुलमा ८० % विद्यार्थी दलित समुदायका पढ्ने गर्दछ्न्। मलाइ त नयाँ ठाउँ, नयाँ स्कुल, साथिभाइहरु नयाँ । मलाई एकदमै नयाँ अनुभव भयो। सँगै पढ्ने साथिहरुले निकै माया गर्ने मलाई त्यो जातभातको कुरा काहाँनेर आउँने कुरा हो त्यो पनि थाहा भएन । त्यो पर्वतका अनेक ठाँउमा अनुभव गर्न नपरेको एउटा कुरा काठमाडौंमा अनुभव गरे । त्यस्तो ठुलो त होइन, भोगाई सामान्य हो तर त्यो सामान्य भोगाइले मेरो मनमा एउटा ठुलो आँधि ल्यायो ।

 

केही महिना अघि म मेरो मास्टर्स (पोलिटिकल साइन्स) को परिक्षा दिन गएको थिए । भक्तपुर बहुमुखी क्याम्पसमा परिक्षा थियो । मसँगै परिक्षा दिइरहेको मेरो साथिले एकदिन उस्को माइतिघर यतै नजिक भएको र एकैछिन गएर बुवाआमालाइ भेटेर भर्कने अनुरोधपछि म साथिसँग उस्को माइतिघरमा गए। घर पुगेर बुवाआमालाइ भेटेपछी उस्ले मलाई किचेनमा जाउ माथी भनेपछी चिया खान हामी माथितिर उक्लियौ। म उस्को पछि लागे किचेनमा पुगेपछी उत्साहित हुँदै एताउता हेर्न लागे किचन एकदम आधुनिक तरिकाले बनाइएको थियो । भक्तपुरको स्थानिय नेवार आर्थिक अवस्था हेर्दा अब्बल नै छ भन्ने कुरा छुट्टाउन कुनै गाह्रो थिएन। एताउता हेरेपछी म मेरो साथिले चिया पकाइरहेको ठाउँमा पुग्नै लाग्दा मेरो साथिले एतातिर नआउ ल हाम्रो भान्सा छुन हुँदैन भनिन्। म त झसङ्ग भए। एकाएक मनमा चिसो पस्यो तर आफुमा कुनै असर परेको जस्तो देखाइन्। म केही वरै बसे र चिया खाएर निस्के। जब त्यहाँबाट निस्के त्यो सानो भोगाइले मेरो मानसपटलमा अनेक कुराहरु खेल्न थाले।

 

देशमा विद्यामान बर्सैंदेखिको जातीय विभेदको कुरा एक्कासी मनमा आयो। ओ हो यतिकैमा स्कुटिको गति तिब्र भएछ थाहा नै भएन। बत्तिएको स्कुटिलाइ जडिबुटी चोकमा ल्याएर रोके चक्कर आयो । थुचुक्कै भुइँमा बसे । एकछिन पछाडि भारी मन र थाकेको शरिरले जबर्जस्ति स्कुटिको एक्सिलेटर बटारे र रुममा पुगे। मनमा अशान्तिले डेरा जमाइरहेकै थियो । ओछ्यानमा पल्टे र सोच्न थाले । ओ हो बर्सौंदेखिको जातिय विभेद भोगेको दलित समुदायको अवस्था…

 

त्यस दिनदेखी मलाई अलि गम्भीर बनायो यो कुराले । जब म कथित उपल्लो जात भनिएको मान्छेलाइ त मेरो साथिको किचनमा प्रवेश रोक लगाउदा मनमा खिन्न भयो भने, जन्मदेखी मरणोपरान्त जातिय विभेद खेपेको यो समुदाय ? अह मनमा शान्ती भएन।

त्यसपछी जातिय विभेदका घटनामा म चासो दिन थाले। कहिले पानीपँधेरोमा दलित भएकै कारण कुटिनु परेको, दलित महिलाहरुलाइ बोक्सिको आरोपमा कुटपिटका कुरा, उपल्लो जातको व्यक्तिसँगको प्रेम गर्दा भएका घटना लगायतका क्रुर घटनाहरु । धेरै छन् यस्ता घटनाहरु जुन सुन्दा पनि पत्याउन नसकिने तर सत्य । जुन कुनै एउटा समुदायले युगौंदेखि भोगिरहेको छ।

 

नेपालको कानुनले जातिय प्रथालाई बर्जित गरेको छ तर व्यवहारमा ? साँच्चिकै महसुस गर्नु र बाहिरबाट हेर्नू धेरै फरक छ। हो अहिलेको समयमा केही परिवर्तन भएको छ । युवापुस्ता प्रेममा परेपछी केहीले विवाह गरेका छन् । तर विवाहपस्चात उनिहरुले परिवारसँगको सम्बन्ध तोड्नु पर्ने अवस्था छ। समाजले नस्विकारेको अवस्था छ। कतिपयले त अकालमा ज्यान नै गुमाउनु परेको अवस्था छ । केहिवर्ष पहिले अन्तरजातीय विवाह गरेकै कारण काभ्रे पाँचखालका अजित मिजारको रहस्यमय हत्या भयो । भर्खरै रुकुम–जाजरकोट घटनामा नवराज बि.कसहित उनका साथिहरुले ज्यान गुमाए । यस्ता कहालिलाग्दो घटनासहित अन्य धेरै नलेखियका र नदेखिएका घटनाहरु छ्न् हाम्रो समाजमा ।

 

अहिलेको आधुनिक भनिएको समाजमा पनि यस्ता घटना हुनु लज्जास्पद कुरा हो । तर कानुनले बर्जित गरेको कुरालाई पनि समाजले सहजै प्रयोगमा ल्याइरहेको छ। जातिय विभेद अन्त्य गर्नको लागि महत्त्वपूर्ण भुमिका खेल्न सक्ने एउटा शक्ति युवा हो तर जति बौद्धिक भएपनि कुनै न कुनै रुपमा युवाहरुले नै यो कुरालाइ त्याग्न सकिरहेका छैनन् । भनाई र गराइमा फरक छ । जबसम्म भनाई र गराइबिचको खाडल पुर्न सकिँदैन त्यो बेलासम्म परिवर्तन वा जातीय विभेदको अन्त्य देखावटी हुने पक्कापक्की छ।

लेखक शोभा सापकोटा राजनीति तथा समाजशास्त्रका विद्यार्थी हुन।


सम्बन्धित खबरहरु