काेराेना महामारीले धकेलिएकाे दैनिकी

सदिक्षा आचार्य ८ आश्विन २०७७, बिहीबार ०७:०० मा प्रकाशित ( साल अघि) ९३१ पाठक संख्या

पुष महिना, मैले कोरोना भाइरसबारे सुनेको महिना । त्यो बेला यसबारे त्यति ध्यान दिइनँ । सामाजिक संजालमा याे विषय आगो भैसकेको थिएन । हामीलाइ लाग्यो काेराेना चाइनाको भाइरस हो । नेपाललाई के नै असर गर्ला र भन्ने पनि भयाे ।

विस्तारै माघ, फाल्गुण, चैत्रसम्म आइपुग्दा कोरोना अर्थात कोभिड-१९ ले पुरै विश्वलाई नै आक्रान्त भैरहेकाे थियो । इटालीमा दैनिक हजारौँको संख्यामा मानिसहरु मरिरहेका थिए ।

यस्ताे खबर सुन्दा मेरो मनमा पहिलो पटक ठुलै चस्का बिझेकाे थियाे । त्यति बेला स्नातकोत्तर एम्.पि.ए‍ तहको दोस्रो सेमेष्टरको परीक्षा चैत्र ९ गते सकिदै थियाे । अचानक ६ गते परीक्षा स्थगनको सूचना आएसगैँ बाँकि दुई विषयको परीक्षा यथावतै रहने भयो ।

सामाजिक संजालमा कोरोनाको महामारीले छिमेकी राष्ट्रहरु आक्रान्त भएको खबरले मस्तिकनै उथलपूथल भएको थियो । दिन दुई गूणा र रात चौगूणाको दरले कोरोनाको संक्रमण भारतमा फैलिरहँदा नेपालको सिमावर्ती क्षेत्र कोरोनाको चपेटामा पर्ने निश्चित नै थियो ।

नेपाल भारतको खुल्ला सिमा नाकाका कारण विभिन्न समस्याले ग्रस्त हुँदै आएको हाम्रो देश कोरोनाको महामारीमा फस्न धेरै समय लागेन । विश्व बजारमा नै चुनौतीको रुप लिएको कोभिड-१९ नेपाल सरकारका लागी झनै संकट र चुनौतिको विषय बन्यो । अब भने सरकारको भूमिका अहम थियो ।

एउटा सानो गल्तीले देशलाईनै संकटको चपेटामा पार्ने निश्चित थियो । भारतले सन् २०२० मार्च २४ मा लकडाउन घोषणा गरेलगतै नेपाल सरकारले पनि सोही दिनबाटै आफ्ना नागरीकको जनस्वास्थ्यलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्न अनुरोध गर्दै चैत्र ११ देखि लागू हुनेगरी देशव्यापी लकडाउनको घोषणा गर्‍याे।

नेपालमा पहिले नै अर्थात जनवरी २३ मा कोरोनाको पहिलो केश पुष्टी भएको थियो । ३० वर्षीय व्यक्ती चीनकाे वुहानबाट सन् २०२० जेनवरी ९ अर्थात पुष २४ मा नेपाल फर्केका थिए । नेपामा दोश्राे संक्रमण चाहि ४ अप्रिल अर्थात चैत्र १५ मा पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना प्रवेशको संकेत आइपुगेको थियो ।

नेपालमा हरेक वर्ष हजारौंको सङ्ख्यामा यूवाहरु विदेशीएका हुन्छन् । नेपालमै केही गर्छु भनेर सोच्ने कतिपयको पनि विदेशी डलरका अगाडी केही लाग्दैन । एक तरिकाले सोच्दा ठिकै पनि हो, उही समय खर्च गरेर बाहिर पैसा धेरै आउँछ भने किन विदेश नजाने त ? कुनै कुनै बेला मलाई पनि यस्तै सोच दिमागमा वारपार गरिरहेको हुन्छ ।

काठमाडौंमा होस्टेल बसेर मास्टर्स गरिरहेकी मैले दोस्रो सेमेस्टर सकेपछि के के गर्ने, कसरी अगाडी बढ्ने भनेर एउटा चित्र कोरेर राखेकी थिएँ । यसरी महामारी आउला र सोचेर राखेको कुरा कोशौं पर पुग्ला भनेर मैले कहिल्यै अनुमान लगाएकी थिइनँ । मैले मात्रै होइन पुरै विश्वमै कसैले अनुमान लगाएका थिएनन् होला ।

चैत्र ११ बाट सरकारले घोषणा गरेको लकडाउन तथा त्रिभुवन विश्वविधालय अन्तर्गत सबै तहका परीक्षा स्थगनकोे खबर पाएपछि अब होस्टेल बसेर उपलब्धी नहोला भन्ने सोचेर हतार हतार मैले आफ्ना केही थान लुगा र दुईवटा किताब झोलामा हालेर चैत्र सात गते नै आफ्नो घर जान होस्टेलबाट निस्केँ ।

गाडी उस्तै थियो प्याक, जहाँ हेरे पनि जुन गाडी हेरेपनि भरिभराउ, बल्ल तल्ल १ घण्टा गाडिलाई कुर्दा बल्ल एउटा रत्नपार्क कीर्तिपुर लेखेको गाडी कलंकी भन्दै तलै ढुङ्गे अड्डाको खाल्टो जस्तो ठाउँमा भेटाएँ ।

सिट त के पाउने नि धन्न क्याबिनमा थोरै खाली ठाउँ रहेछ अनि त्यहाँ बसेँ । ड्राइभरलाई सोधेँ, ‘अङ्कल किन आज लामो रुटमा गाडी ? कीर्तिपुर रत्नपार्क छ नि ?’ भन्दा आज तिरो तिरेर लामो दुरीमा चलाउन लागेको नानी भन्दै रसिद देखाउन थाले ।

हुन पनि विगत दुई दिन सम्म त राजधानी पुरै रित्तिसकेको थियो । गाडिको ठेलमठेल थियो । यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने हुटहुटी नै चलेको थियो । क्याबिनको खचाखच बसाई अनुभव पार गर्दै लगभग ६ घण्टामा म नवलपुर आईपुगेको थिए । कति नै बन्द होला र ? भन्ने सोच र मानसिकता दिन प्रति दिन बढ्दै गईरहेको कोरोना केसले झनै बढाउँदै गईरहेको थियो ।

सात गते घर आईपुगेकी म अब कहिले आफ्नो कर्मथलो फर्किने हो कुनै शुभ सङ्केत थिएन । चैत्र महिना यत्तिकै सकियो । जाँच अब कहिले हुने कसरी हुने भन्नेबारे कतैबाट समाचार आएकाे थिएन । फलामे ढोका मानिँदै आएको एस.ई.ई पनि स्थिगित भैसकेको थियो । विधार्थीको मानस्थितीमाथि स्वयं विधार्थी नै अनविज्ञ थिए।

दैनिकी पर पर धकेलिदै थियो । कलेज जाने आउने सामान्य दिननै फेरिएको, दिन त के भन्ने र परिस्थिती भनौँ न । चैत्र ५ अगाडीको दैनिकी र त्यसपछिको दैनिकीमा आकाश पातालको फरक प्रष्टै देखिन थालिसकेको थियो । चैत्र महिना पुरै बित्यो, बैशाख लाग्यो, एक हप्ताको बसाई १ महिना भन्दा बढि लम्बियो ।

सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरु गरीब तथा मजदुरका लागि भन्दै अनेक राहत वितरण कार्यक्रम गर्दै थिए ।
सरकारको अस्त व्यस्त कार्ययोजना देख्दा त कहिले काहिँ हार खाए सरह महसुस हुँदो रहेछ ।

विभिन्न कार्यक्रमलाई बजेट तुर्जमा गर्दा त वर्षेनी रकम फ्रिज भएर जाने गरेको छ भने भविष्यमा आउने कुरा र विकास व्यवस्थापनको लागी झन् के नै आशा गर्न सकिएला र खै ?

सुरुवातका दिनहरुमा घरमा भएका पुस्तकहरु पढेर बित्यो । राधा पौडेलको ‘खलंगामा हमला’, मिसेल ओबामाको ‘बिकमिङ’ लगायत घरमा भएका अरु पुस्तक समेत पढेर सकेँ । थुप्रै गैरसरकारी संस्थाहरुले गरेका अनलाइन कार्यक्रम अझै प्रष्ट रुपमा भन्नु पर्दा भर्चूअल कार्यक्रमा सहभागी भएँ ।

दिन सहजै बितेको थियो, इन्टरनेटले विश्व जोडेर धेरै राम्रो काम गरेको पनि महसुस भयो । पहिले समय भएन भनेर गुनासोमा थन्किएका थुप्रै कामलाई जीवन दिने बेला भनेर पनि एक तरिकाले हेर्न सकिन्थ्यो । यूट्यबमा ध्यान र व्यायमका अनेक भिडियो हेरेर शारीरिक एवंम मानसिक सन्तुलन मिलाउनलाई पनि लकडाउनको सुरुवाती समय निकै फलदायि रहेको थियो मेरो लागि । श्रिमद् भागवत गिता र महाभारत पनि मैले सुनेर सकाएँ । अलिकति धार्मिक ग्रन्थका ज्ञान जीवनमा पनि काम लाग्ला भनेर ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेलाई यो कोरोना र लकडाउन साढे सातको दशा जस्तै बनेको छ । रोगले भन्दा भोकले अत्तालिएका उनीहरुको व्यवस्थापन किन हुन सकेन ? लकडाउन भएको महिनौं भैसक्दा यो सरकार किन निकम्मा बनिरहेको हो ? जवाफ कहिले दिने हो सरकार ?

१९९० सालको भुकम्प, २०७२ सालको भुकम्पजस्ता विपद बेहोरेको नेपालले, यस्तै महामारी र विपद व्यवस्थापन सम्बन्धि वर्षेनी बजेट बिनियोजन गरेको भए वा सो सम्बन्धि प्रावधान संविधानमा उल्लिखित हुन्थ्यो भने यो महामारीमा देशको अर्थतन्त्रमा यस्तो भारी गिरावट आउने थिएन । देश यो चरम असन्तुलनमा धकेलिने थिएन । आज विश्वकै अर्थतन्त्र धरापमा छ । विकसित मुलुक पनि धेरै समय यसरी थेगेर बस्न सक्ने स्थितिमा छैनन् ।

सरकारले विज्ञहरु र नीति निर्मातासँग निरन्तर संवाद र विश्लेषण गरेर सुरुवातकै दिनमा पक्को कार्यविधी र विकल्प जनतासामु पस्कन सक्थ्यो । सरकार यस विषयवस्तूमा चुकेकै हो ।

घरघरमा सरकार भन्दै २० वर्षपछि स्थानिय सरकारको व्यवस्था पाएका नेपालीले उचित व्यवस्थापन प्राप्त गर्न अझै कति वर्ष कुर्न पर्ने हो निकै अन्योल र द्धिविधाकाे विषय बनेको छ ।

पहिलो चरणको लकडाउन लम्बिदै ४ महिनामा अर्थात श्रावण ६ मा अन्त्य भयो। यसलगतै नेपालका अधिकांश ठाउँहरुमा बाक्लो चहलपहल बढ्दै गयो । त्यो बेलासम्म झन्डै १८,००० मानिसमा कोरोना सङ्क्रमण पुष्टि भईसकेको थियो ।

सरकारले सवारीसाधनहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर, क्षमताको आधा संख्यामा यात्रु राखी दोब्बर भाडा लिन पाउने व्यवस्था जारी गरेको थियो । सवारीसाधन फ्याट्टफुट्ट चल्दै थिए । सरकारले यातायातमा दोब्बर भाडा लिने भनेर आदेश जारी गरिदिएको थियो । बिस्तारै कार्यालय, गाडी, व्यवसायीहरु पूरानै शैलीमा फर्कन खोज्दै थिए ।

एस.ई.इ को नतिजा आन्तरिक मूल्यांकनको आधारमा गरिने निर्णय भएको थियो । कक्षा ११ को पनि त्यस्तै आदेश थियो । देशभरका अधिकांश विधार्थी पढ्ने त्रिभूवन विश्वविधालय भने अझै छलफलकै चरणमा छ । लाखौँ विधार्थी परीक्षाको बारेमा, के हुने होला भन्ने आशामा मात्रै दिन बिताएका छन् ।

नेपालमा सबैलाई इन्टरनेट सहजरुपमा उपलब्ध छैन । एउटा फोनको सिग्नल टिप्न कति गाह्रो हने ठाउँहरु नि छन् । सबैको आर्थिक स्थिति एकैनाश पनि छैन ।

यो परिस्थितीमा के गर्ने ? अन्लाइन परीक्षा ? सबै व्यवस्थापन गर्न काठमाडाैं विश्वविधालयलाई सहज हुँदै गर्दा त्रिभुवन विश्वविधालयलाई किन यति धेरै समय लाग्ने ?

साउन २९ मा अब एम.पि.ए तेस्रो सेमेष्टर अनलाइनमार्फत सुरु हुने भन्ने सूचना देखेपछि बल्ल अस्तव्यस्त दैनिकीलाई थोरै राहत मिल्यो । भाद्र २ बाट नयाँ सेमेष्टर सुरु भएपश्चात समय थोरै व्यवस्थित भएको थियो ।

सोचेर राखेका हजार सपना त यथावतै थियो, स्थिति कुनै न कुनै दिन त सहज होला नि भनेर मनमनै सोच्ने गर्छु । मलाई जस्तो सुकै परिस्थितिमा पनि सकारात्मक तथा रचनात्मक रहन साहित्यकार सरस्वती ज्ञावालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ कृर्तिले निकै अहम भूमिका खेलेको छ ।

किसानले हजारौँ पर्ने हरिया तरकारीले बजार नपाएको भन्दै स्वदेशी अर्गानिक तरकारी नालीमा फालेका, दुध बिक्री नभएर बाटोमा पोखेका जस्ता खबरले आँखा भरिएर आउने ।  समयमै व्यवस्थापन भएको भए त यस्तो खबर त सुन्न पर्दैन्थ्यो होला नि । नीति नियममा मात्रै, कागजमा मात्रै सिमित नेपालको विकास जस्तै अवस्थाको विषयबोध गर्न सकिने स्थिती छ नेपालमा ।

सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउन पश्चात स्थानिय सरकारको समन्वयसँगै पुन निषेधाज्ञा जारी गरेको थियो । लकडाउन र निशेधाज्ञा दिर्घकालिन समाधानका उपाए नभएकोले संक्रमणदर उच्च हुँदा पनि जनजिवन सहज पार्न ‘नयाँ नर्मल’ भनेर सरकारले झन्डै तिन हप्ता लम्बिएको निशेधाज्ञा खुकुलाे पारेकाे छ ।

अधिकांश देशहरुमा हजारौँको सङ्ख्यामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हरेक वर्ष विदेसिएका यूवा कामलाई छोडेर स्वदेश फर्कन बाध्य छन् ।

उनीहरुको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सबै सरकारकै शिरमा आएको छ । आखिर आफ्नो देशका नागरिककाे सुरक्षाको जिम्मा त अभिभावक अर्थात सरकारले नै उठाउनुपर्ने हाेला नि, होइन र ?


सम्बन्धित खबरहरु