२ डाक्टर सहित १५ जनामा कोरोना संक्रमण

ओकेखबर संवाददाता १३ श्रावण २०७७, मंगलवार ०८:४६ मा प्रकाशित ( साल अघि) ४८९ पाठक संख्या

वीरगञ्ज । संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या देखिएको पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको छ ।

 

नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतका अनुसार वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रुपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै थिए ।

 

वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना देखिएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई ५ दिनदेखि ज्वरो आइरहेको थियो । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ ।

वीरगञ्जको कोरोना अस्पतालमा १० जना महिलासहित ५७ जना संक्रमितको उपचार भइरहेको छ ।  जसमध्ये चार जना आईसीयुमा छन् ।आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । कतिपयलाई क्वारेन्टिनमै छुट्टै राखिएको छ भने कतिपय घरमै आइसोलेटेड छन् । तर होम आइसोलेसन सम्बन्धी कार्यविधिको पालना भए/नभएको कसैले पनि अनुगमन गरेका छैनन् ।

 


सम्बन्धित खबरहरु