‘सरकारको काम नदेख्नेलाई मोतिविन्दु भएको हुनसक्छ’ : स्वास्थ्यमन्त्री ढकाल

ओकेखबर संवाददाता १२ श्रावण २०७७, सोमबार १६:५१ मा प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् ।

सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।

उनले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताए । उनले भने ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’

कोभिड १९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालको दावी थियो ।


सम्बन्धित खबरहरु