लकडाउन खुल्यो, जोखिमको घण्टी बज्यो

ओकेखबर संवाददाता १० श्रावण २०७७, शनिबार १७:४३ मा प्रकाशित ( साल अघि) ३३१ पाठक संख्या

काठमाडौं | संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् ।

लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।
लकडाउन हटेपछि काठमाडौंमा देखिएको भीडभाड । कोरोना संक्रमणको जोखिम रहेकाले अझै पनि सार्वजनिक स्थलमा भीडभाड नगर्न र सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् ।

यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

डा कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ ।

 

कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ ।

 

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदनकुमार उपाध्यायले पनि जोखिम झनै बढेको बताए । ‘देश काठमाडौं मात्र हैन । हालसम्म समुदायमा संक्रमणको अवस्था जान्न स्क्रिनिङ गर्न सकेका छैनौं । समुदायमा संक्रमण छरछैन सुनिश्चित गरेपछि मात्र लकडाउन खोलिनुपर्थ्यो । बारा, पर्साकै कुरा गर्ने हो भने पनि एकै दिन ५० जनासम्म संक्रमित देखिने गरेका छन् ।’ सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उनको भनाइ छ ।


सम्बन्धित खबरहरु