ट्रम्प फेरी विवादमा : सर्वसाधारणलाई मास्क प्रयोगको अपिल गर्न अस्वीकार

ओकेखबर संवाददाता ३ श्रावण २०७७, शनिबार ०९:२७ मा प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिक विषय बनेको मास्कका प्रयोगलाई लिएर पटकपटक विवादम तानिदै आएका छन् ।

त्यसो त यसपटक राष्ट्रपति ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन्।

कोरोना भाइरसको महामारी थप तीव्र गतिमा फैलिरहेका बेला आफूले एकपटक सार्वजनिक रुपमा गएको हप्ताको शनिबार मास्क लगाएका ट्रम्पले सर्वसाधारणलाई अपिल गर्न भने अस्वीकार गरेका हुन् ।

शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन्।

मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट बच्ने सम्भावना बढी हुन्छ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको भनाई आएको हो । डा. फाउचीले मास्क वा रुमालले मुख छोप्नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नु पर्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । उनले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाए पनि सर्वसाधारण त्यसका लागि आग्रह गर्न भने अस्वीकार गरेका हुन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार भन्दा बढी पुगेको छ । यस्तै कोभिड–१९ बाट अहिलेसम्म अमेरिकामा एक लाख ३९ हजार भन्दा बढीको ज्यान गएको छ ।


सम्बन्धित खबरहरु