स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना समुदायस्तरमा फैलिएको छैन

ओकेखबर संवाददाता ७ असार २०७७, आईतवार १८:४१ मा प्रकाशित ( साल अघि) ४९१ पाठक संख्या

काठमाडौं । नेपालमा दिन प्रतिदिन कोरोनाको संक्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समुदायस्तरमा संक्रमण नगएको बताएका हुन् । उनले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएकाहरुमा संक्रमण देखिएको जानकारी दिए ।

जसमध्ये पनि धेरैजसो भारतबाट आएकाहरुमा कोरोना पुष्टि भएको बताए । कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी रहेको उनले बताए ।

साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ।

मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले बताए। उनले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । भने २३ जनाले ज्यान गुमाएका छन् ।


सम्बन्धित खबरहरु