कोरोना संक्रमण साउनसम्म तीव्र गतिमा फैलिने देखिन्छ : डा. पाण्डे

डा. रवीन्द्र पाण्डे ७ जेष्ठ २०७७, बुधबार १२:११ मा प्रकाशित ( साल अघि) १०६५ पाठक संख्या

-अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद-

नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको मेरो निस्कर्ष छ । त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो । उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं । यसलाई पुष्टि गर्ने केहि आधार छन् ।
.
१. बेलायतबाट प्रकाशित हुने डेलिमेल लगायत धेरै पत्रिकाले त्यो बेला लेखेका थिए कि नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यो नै स्पेनको कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु थियो ।
२. फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
३. माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका बिभिन्न ठाउँमा केहि मृत्यु भएका थिए ।
४. फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीब्र गतिमा फैलिंदा नेपालमा अत्यन्तै न्यून केस देखिएका थिए । यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालको केहि जनसंख्या कोरोना संक्रमण बिरुद्ध इम्युन भएको हुनसक्छ । बैशाखसम्म एकजना बिरामी पनि आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको थिएन । त्यस्तै कसैको पनि मृत्यु भएको थिएन ।
५. नेपालका अधिकांश ठाउँमा र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिलाई PCR टेस्ट गर्दा नेगेटिभ देखिएको छ । र्यापिड टेस्टमा ३० देखि ६० प्रतिशत फल्स रिपोर्ट आउँछ, १०० % फल्स रिपोर्ट आउंदैन । र्यापिड टेस्ट पोजिटिभ तथा PCR टेस्ट नेगेटिभको अर्थ के हुन्छ भने अहिले सक्रिय संक्रमण छैन तर पहिले संक्रमण भएर शरीरमा एन्टिबोडी बिकास भएको छ ।
६. हालसम्म र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिहरुको क्लस्टर अध्ययन गर्ने हो भने कुन कुन ठाउँमा कोरोना फैलिएको थियो भनेर अनुसन्धान गर्न सजिलो हुन्छ ।
७. गुल्मीको मदाने गाउँपालिका शिक्षकलाई जन्डिस तथा निमोनियाको संकेत भनेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको भएन । उनलाई बुटवल रिफर गरियो ।बुटवलको क्रिम्सन अस्पतालमा ल्याउँदा उनलाई सास फेर्न निकै गाह्रो भएको थियो । त्यसैले भेन्टिलेटरमा राखियो । उनको कोरोना टेस्ट पोजिटिभ देखियो । उनको ट्राभल हिस्ट्री छैन । गाउँमा कसैलाई कोरोना पोजिटिभ देखिएको थिएन | यो किसिमका केस अधिराज्यभर फाट्टफुट्ट देखिएका छन् । यसको अर्थ के हुन्छ भने नेपालका बिभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष अहिले पनि छ ।

यी केसको आधारमा के भन्न सकिन्छ भने नेपालमा जनवरी र फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आएको थियो ।

कोरोना संक्रमणको दोस्रो वेभ :
अप्रिल र मे मा नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ आएको छ । यो वेभ खास गरेर भारतबाट आएका नेपाली र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा ब्यापक मात्रामा देखिएको छ । परिक्षणको दायरा निकै साँगुरो भएकोले यो वेभको क्षेत्रफल अध्ययन हुन सकेको छैन । अहिले भारतसंग जोडिएका सिमाना, त्यहाँबाट बिभिन्न गाउँ तथा सहरमा पुगेका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, क्वारेन्टाइनमा बसेका व्यक्तिमा धरै देखिएको छ । संक्रमण फैलिएको इन्डिकेटर बताउने समुह जस्तै डाक्टर, नर्स, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, बालबालिका तथा सक्रिय उमेरका व्यक्तिमा बिभिन्न ठाउँमा छरिएर देखिएको छ । यो वेभ साउनसम्म तीब्र गतिमा फैलिने देखिन्छ । रोकथामका उपायलाई गम्भीर रुपमा परिचालन नगर्ने हो भने साउन मसान्तसम्म नेपालमा २४ हजार व्यक्ति संक्रमित हुने मेरो निस्कर्ष छ । यसको १५ % अर्थात ३६०० जनालाई अस्पतालको सेवा आबश्यक पर्न सक्छ भने १२०० जनालाई आइसीयु / भेन्टिलेटर आबश्यक हुनसक्छ । गुणस्तरीय उपचार र तयारी नभएमा करिब ६०० जनाको मृत्यु हुनसक्छ । यो ग्यारेन्टी होइन, मेरो अध्ययन र विश्लेषण हो । राज्यले न्युनतम यो संख्याको उपचारको लागि र मृत्युदर घटाउन गम्भीर तयारी गर्नुपर्ने देखिन्छ ।

तेस्रो वेभ :
विश्वका बिभिन्न देशमा भएको अध्ययन अनुसार नोभेम्बरदेखि तेस्रो वेभ सुरु हुनेछ । नेपालको सन्दर्भ हेर्ने हो भने तेस्रो वेभ मंसिर, पुस र माघसम्म रहने देखिन्छ । यो वेभ दोस्रो वेभभन्दा कमजोर हुने प्रक्षेपण गर्न सकिन्छ । यो वेभ आउने बेलासम्म कोभिड १९ को औषधि तथा खोपमा धेरै प्रगति हुने अनुमान गर्न सकिन्छ । राज्यले बिज्ञहरुको टास्क फोर्स बनाएर यो अवस्था नियन्त्रण गर्न आबश्यक पहल गर्नु जरुरी छ ।


सम्बन्धित खबरहरु