नेपालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु, धुलिखेल अस्पताल सिल

ओकेखबर संवाददाता ३ जेष्ठ २०७७, शनिबार १४:१३ मा प्रकाशित ( साल अघि) ११६७२४ पाठक संख्या

काठमाडौं । नेपालमा पहिलोपटक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो। अस्पताल स्रोतका अनुसार ती महिलामा कोरोनाको संक्रमण देखिएको छ।

उनलाई हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पताल स्रोतले जनाएको छ। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो।

तर, स्वास्थ्य मन्त्रालयले ती महिलाको स्वाब धुलिखेल अस्पतालबाट मगाएर पुनः परीक्षणका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको स्रोतले जनाएको छ। धुलिखेलमा पीसीआर र आरडीटी दुवै रिपोर्ट पोजेटिभ आएको छ।

शुक्रबार निधन भएकी ती महिला अस्पतालमा श्वासप्रश्वासको समस्याका कारण भर्ना भएकी थिइन्। उनी आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डेलिभरी गराएर घर फर्किएकी थिइन्।

उनको शुक्रबार दिउँसो स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ।

-काठमाडौं प्रेस


सम्बन्धित खबरहरु