आज: 

श्रमिकको नदेखिएको श्रम

नवराज सापकोटा १९ बैशाख २०७७, शुक्रबार १०:५१ मा प्रकाशित ( साल अघि) ८६५ पाठक संख्या

भनिन्छ श्रमको मूल्य हुँदैन यो अमुल्य छ । तर यही अमुल्य श्रमको मूल्य तोक्नकै लागि विश्वभरका रोजगारदाता श्रमिक, उच्च वर्गका भनिने व्यक्ति संस्था तथा सरकारहरु होडबाजी गरिरहेका छन् ।
International Labour Organization (ILO) मा हालसम्म १८५ वटा देशहरु सदस्य राष्ट्रहरु रहेका छन् । ILO को मुख्य ध्यय भनेको नै सामाजिक न्यायलाई प्रवद्र्धन गर्ने र मानवअधिकार, श्रमिकका अधिकारलाई अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्नु हो । यसका मुख्यतः४ वटा रणनैतिक उद्देश्यहरु श्रमका आधारभूत मान्यता सिद्धान्त र अधिकारको प्रवद्र्धन गर्ने, महिला पुरुष दुबैलाई मर्यादित रोजगार र आयमा समान अवसरहरुको सृजना गरी लैङ्गिक विभेद हटाउन सबैका लागि सामाजिक संरक्षण प्रभावकारीता अभिवृद्धि गर्ने र सामाजिक सम्वाद र रोजगारदाता कामदार र सरकारपक्षलाई प्रोत्साहन गर्ने जस्ता रहेका छन् ।

नेपालको संविधानको धारा २९६ बमोजिम जारी श्रम ऐन २०७४ ले श्रमिक भन्नाले पारिश्रमिक लिइ रोजगारदाताको लागि शारीरिक वा वौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्तिलाई बुझिन्छ भनि परिभाषित गरेको छ । यस ऐनले श्रमिकसम्बन्धी ७ वटा आधारभूत व्यवस्था गरेको छ । जसमा न्यूनतम मापदण्डको रुपमा रहने, बाँधा श्रममा लगाउन नहुने, बालबालिकालाई काममा लगाउन नहुने, भेदभाव गर्न नहुने, समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने, ट्रेड युनियन सम्बन्धि अधिकार, उपचार प्राप्त गर्न सक्ने आदि । त्यस्तै नियमित रोजगारी, कार्यगत रोजगारी, समयगत रोजगारी, आकस्मिक रोजगारी र आंशिक रोजगारी भनी रोजगारीको प्रकार उल्लेख गरेको छ ।

यसरी श्रम ऐनले व्यवस्था गरेअनुसार व्यावहारिक प्रयोग पनि भएको छ त ? के सरकारले ऐनबमोजिम तोकेको न्यूनतम पारिश्रमिक रु १३४५० कामदारहरुले प्राप्त गरेका छन् त ? श्रमिकका लागि बढीमा दैनिक ८ घण्टा र हप्ताको ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने र लगाएमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने मान्यताको पालना भएको छ त ? श्रमिकलाई उपचार, बीमा, सामाजिक सुरक्षा जस्ता मापदण्ड पुरा भएको छ त ?

यी र यस्ता प्रश्न र चुनौतिहरु सामु मजदुर दिवस मनाउदै गर्दा आज इट्टाभट्टिमा रहेका बालश्रमिक, होटलमा, सवारीसाधन, सडकमा रहेका बालश्रमिक, सडकमा भारी कुरेर बसिरहेका अनियमित मजदुर आदिलाई मजदुर दिवसको शुभकामना कसरी दिउँ?, अझै समान काम गरेर समान ज्याला पाउन नसकेका महिला, गर्भवति महिलाहरुलाई कसरी शुभकामना दिउँ ?, महिनाभरी दुखका साथ रिपोर्टिङ गर्ने पत्रकारहरुको अक्षर र प्रशारित भिडियो गणना गरेर उपलब्ध गराइएको पारिश्रमिक पाउने पत्रकारहरुलाई कसरी शुभकामना दिउँ ? न्यूनतम पारिश्रमिकमा काम गर्ने विद्यालय कर्मचारी, सहयोगी कार्यकर्ता, बरियता र अन्य सुविधा प्राप्त गर्न नसकेका हामी शिक्षकहरुलाई कसरी शुभकामना दिउँ ? समान समय र काम गरेर समान पारिश्रमिक लिन नपाएका शिक्षक, कर्मचारी, पत्रकारलगायतका श्रमिकलाई कसरी शुभकामना दिउँ ? सडकमा भारी बोक्न नपाएर बेलुका परिवारलाई के खुवाउने भन्ने चिन्तामा रहेका श्रमिकहरुलाई कसरी शुभकामना दिउँ ? सडककिनारामा बस्ने सुकुम्बासीबस्तीका श्रमिकहरु, नदिकिनारमा गिटी कुट्दै गरेकी र निकै कम पारिश्रमिक प्राप्त गर्ने ति बुढी आमालाई कसरी शुभकामना दिउँ ? कोरोनाका कारण रोजगार खोसिएका संसारभरका श्रमिकहरुलाई कसरी शुभकामना दिउँ ? यस्ता विभिन्न समस्याहरुका बाबजुद सम्पूर्ण मजदुरहरुलाई समतामुलक व्यवहार कसरी गर्न सकिन्छ सोचनीय छ ।

कुनैपनि श्रम गर्ने व्यक्तिको अमुल्य श्रमको मुल्य तोकिदै गरेको अवस्थामा पनि श्रमिकले आफ्नो श्रमको मुल्य पाइरहेको छैन । कतिपय किसानले गरेको श्रम त्यसै खेर गइरहेको छ । राज्यको किसान पेन्सन कार्यक्रम लागु भएको भए केही मात्रामा राहत प्राप्त हुन सक्थ्यो कि ! अहिले लागु भएको संघीयताले श्रमिकहरुको लागि अवसर प्रदान गर्नुपर्नेमा अपेक्षित हुन सकिरहेको छैन । हरेक क्षेत्रमा काम गर्ने श्रमिकहरुले बाँचुञ्जेलको सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । सम्पुर्ण मजदुरहरुले आफुले सकुञ्जेल मजदुरी गर्दै गर्दा मजदुरी गर्न नसक्ने अवस्था आएपछि सरकारी कर्मचारीले पेन्सन प्राप्त गरेजस्तै उनीहरुको सामाजिक सुरक्षामा उनीहरुको पनि योगदानमा आधारित पेन्सन जस्ता न्यायिक सुविधा उपलब्ध गराइनुपर्छ । श्रममा लगाइएका श्रमिकहरुले श्रमऐनअनुसारको सेवासुविधा पाए नपाएको हेर्ने निकायले समानुपातिक तबरले श्रममा लगाउने संस्था व्यक्तिको निगरानी गर्नुपर्दछ । नियमानुसार श्रममा नलगाउने व्यक्ति संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । हरेक व्यक्तिहरुले श्रम गर्न चाहदापनि श्रम गर्ने उपयुक्त वातावरण र अवसर प्राप्त गरिरहेका छैनन् । प्राकृतिक रुपमा जन्मेका निर्दोष बालबालिकाहरु जाति व्यवस्था र आर्थिक अवस्थाको आधारमा उच्च अवसर र कठिन श्रम गर्न बाध्य छन् यो अन्यायपूर्ण छ ।

आखिरमा जे जसो भएपनि विश्वबजार श्रमले नै टिकेको छ । विश्वव्यापीकरण, भुमण्डलीकरण लगायतले पनि विश्वभरका श्रमिकहरुलाई फाइदा नै पुगेको छ । सरसफाइ गर्नेदेखि लिएर डाक्टर, इन्जिनियर, चाहे जुनसुकै होस् सबै किसिमको श्रमको आआफ्नै महत्व छ । तसर्थ श्रम र श्रमीकहरुलाई वर्गीकरण र भेदभाव नगरौं । अझै अहिले विश्वभरका श्रमिकहरुसंगै कोभिड १९ को कारण अधिकाँश नेपाली कामदारहरु पनि विश्वबजारमा बेरोजगार हुँदै गर्दा सरकारले पनि देश विदेशमा रहेका सम्पुर्ण श्रमिकहरुको उचित व्यवस्थापन र सुरक्षा प्रदान गर्नेतर्फ ध्यान दिनुपर्छ । श्रमिकहरुको नाममा राजनीति गर्नेहरुले वास्तविक श्रमिकहरुको हकहितका लागि लडिरहुन् । हामीहरुले पनि श्रमिकको हरेक कामलाई सम्मान गर्रौ श्रमको उचित मूल्य प्रदान गरौं । हामी सबै सचेत बनौं । श्रमिकहरुलाई हक अधिकार प्रदान गर्ने कुरामा सरकारको ध्यान जाओस् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।


सम्बन्धित खबरहरु