आज: 

बिदामा नेपाल गएका श्रमिकको भिसा गुम्ने खतरा

ओके खबर ७ बैशाख २०७७, आईतवार ०९:३८ मा प्रकाशित ( साल अघि) २३४ पाठक संख्या

सउल । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उहाँ फर्कन पाउनुभएन ।
लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन नसक्ने जानकारी गराउँदा कम्पनीले छिटो आउन या रोजगारी छाड्न दबाब दिइरहेको छ ।

 

उहाँजस्ता ८०० बढी नेपाली श्रमिक (विद्यार्थी र व्यवसायीसमेत) बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि नेपाल पुगेर उतै अड्किएका छन् । अनेक कष्टका साथ दक्षिण कोरिया आइयो तर कमाउने बेलामा नेपाल फर्केर कम्पनीको स्वीकृत बिदा अवधिभित्रै कोरिया फर्कन नसक्दा आफ्नो रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ ।

यस समस्यालाई ध्यान दिएर केही नेपाली सङ्घसंस्थाले बिदामा नेपाल जाने नेपाली श्रमिकलाई कोरिया फर्काइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएका छन् । सउलस्थित नेपाली दूतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन व्यवसायी सङ्घ, नेपाली विद्यार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलालगायतले यहाँस्थित कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई ज्ञापनपत्र बुझाउँदै बिदामा नेपाल गएका नेपालीलाई जतिसक्दो छिटो कोरिया फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।


सम्बन्धित खबरहरु