घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार

ओकेखबर संवाददाता १४ फाल्गुन २०७६, बुधबार ०७:४३ मा प्रकाशित ( साल अघि) ४१९ पाठक संख्या

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चल्सी जर्मन क्लब बायर्न म्युनिकसँग ३–० ले पराजित भयो । यो पराजयसँगै चेल्सीको क्वार्टर फाइनल पुग्ने सम्भावना अत्यन्त न्यून बनेको छ ।

बायर्नको जितमा सेर्जी ग्नाब्रीले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ५१औं र ५४औं मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई दुई गोलको अग्रता दिलाएका थिए । यो दुबै गोलमा रोबर्ट लेवान्दोस्कीले एसिस्ट गरेका थिए । ७६औं मिनेटमा लेवान्दोस्कीले पनि गोल गरे ।

खेलभरी बायर्नको दबाबमा परेको चेल्सीका मार्कोस अलोन्सो ८३औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी झन दबाबमा परेको थियो ।

अर्को खेलमा बार्सिलोनाले नापोलीलाई १–१ गोलको बराबरीमा रोकेको छ । नापोलीको मैदानमा भएको खेलमा एन्ट्वान ग्रिजम्यानले गोल गर्दै बार्सिलानाको हार टारेका थिए ।

खेलको ३०औं मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नापोलीले सो अग्रता कायम राखेपनि ५७औं मिनटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।


सम्बन्धित खबरहरु