प्रधानमन्त्रीले किन गरे अर्थमन्त्रीको प्रशंसा ?

ओकेखबर संवाददाता १९ जेष्ठ २०८१, शनिबार ०६:३२ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको प्रशंसा गरेका छन् ।

उनले शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा राम्रो बजेट ल्याएको भन्दै पुनको प्रशंसा गरेका हुन् । प्रचण्डले बजेटको सर्वत्र स्वागत भएको दाबी गरे ।

सरकारमा सहभागी दल मात्र नभइ प्रतिपक्ष र निजी क्षेत्रका संगठनहरुले समेत राम्रो बजेट आएको प्रतिक्रिया दिएको उनको भनाइ थियो । बजेट निर्माणमा अर्थमन्त्रीले धेरै मेहनत गरेको पनि उनले बताए । यथार्थपरक र सन्तुलित बजेट ल्याएकामा संसदीय दलको तर्फबाट धन्यवाद दिए ।

अर्थमन्त्री पुनको आत्मविश्वास देखेर बजेट वक्तव्य वाचन गर्दै गर्दा आफूलाई गर्वको अनुभूति भएको प्रचण्डले सुनाए ।

‘पहिला त कस्तो गर्नुहोला भन्ने लागेको थियो’, प्रचण्डले भने, ‘जबजब उहाँ अगाडि बढ्नुभयो त्यति–त्यति कन्फिडेन्ट देखेर मलाई उहाँप्रति गर्व लाग्यो ।’ प्रचण्डले राम्रो बजेट आएको भन्दै बजेटका पक्षमा उभिन सांसदहरुलाई निर्देशनसमेत दिए ।


सम्बन्धित खबरहरु