संसदीय छानबिन समिति गठनको अडानमा कांग्रेस थप आक्रामक

ओकेखबर संवाददाता ३० बैशाख २०८१, आईतवार ०७:१३ मा प्रकाशित ( महिना अघि) ६१ पाठक संख्या

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा थप आक्रामक बन्ने जनाउ दिएको छ । शनिबार बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सत्तापक्षले पेलेर जान खोजेको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठनको अडानमा थप आक्रामक रूपमा प्रस्तुत हुने निर्णय लिएको छ । यही मुद्दामा बजेट अधिवेशनको पहिलो बैठकमै कांग्रेसले सदन अवरोध गरेको छ ।

महामन्त्री तथा कांग्रेस सांसद गगन थापाका अनुसार सरकार र सभामुख प्रमुख प्रतिपक्षलाई पेलेर जाने पक्षमा रहेको समीक्षा बैठकमा भएको छ । थापाले संसदीय दलको बैठक बोलाएर थप रणनीति बनाउने उनले बताए । विपक्षी लचक हुँदाहुँदै पनि सत्तापक्ष माग पूरा गर्न तयार नभएको कांग्रेसको निष्कर्ष छ ।

‘संसद्को गतिरोध पनि अन्त्य होस् र हाम्रो माग पनि पूरा होस् भनेर लचकता देखाएका थियौँ । तर, सरकार पेलेर जाने रबैयामा देखियो । सभामुख पनि संसद्को गतिरोध अन्त्यका लागि अझ बढी संवेदनशील हुनुपर्ने हो । प्रतिपक्ष दलले यत्रो सदाशयता राख्दै गर्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो,’ उनले भने, ‘यो हाम्रा लागि अप्रत्याशित भयो । हामीले लामो समयदेखि गृहमन्त्रीले बोल्न पाउनुपर्छ, उहाँको कुरा सुन्नुपर्छ भन्दै गर्दा जबर्जस्ती कार्यसूचीमा प्रवेश गराउने काम भयो । यो सबैले संसद् पनि चल्न नदिने, छानबिन समिति पनि बन्न नदिनेतर्फ सरकार उद्यत भएको हाम्रो निष्कर्ष रह्यो ।’

१ जेठसम्मका लागि संसद् बैठक स्थगित छ । कांग्रेसले थप रणनीति तय गर्न सोमबार संसदीय दलको बैठक आह्वान गरेको छ । बैठकबाट कसरी संसद्मा प्रस्तुत हुने भन्ने टुंगो लाग्ने महामन्त्री थापाले बताए । ‘संसद्मा कसरी जाने भन्ने विषयमा संसदीय दलको बैठक बोलाएका छौँ । सरकारको यो रबैयापछि संसद्भित्र कसरी थप सशक्त रूपमा प्रस्तुत हुने भन्ने टुंगो लाग्छ,’ उनले भने ।


सम्बन्धित खबरहरु