राजनीतिक गठबन्धन गर्ने कि नगर्ने तत्कालिन समयमै निर्णय लिइनेछ : शेरबहादुर देउवा

ओकेखबर संवाददाता ७ फाल्गुन २०८०, सोमबार १७:२९ मा प्रकाशित ( महिना अघि) १४३ पाठक संख्या

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताएका छन् ।

 

सोमवार पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर हुने बताए ।

उनले पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकतामा ठोस मूल्यांकन गरी त्यसै बेलामा नै निर्णय लिने बताए । उनले पार्टीलाई संगठनात्मक रूपले थप सबल बनाउनका लागि विधान संशोधनका बारेमा आवश्यक छलफल गर्न सकिने बताए ।

उनले जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य नहुने बताए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा नेपाली काँग्रेस दृढ रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने बताए ।

 

उनले भने – ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालित परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा निर्णय लिन सक्नेछ । नेपाली काँग्रेस नेपाली जनताको सबैभन्दा ठूलो आशा, भरोसा र विश्वास गरेको पार्टी हो । जनताको यो विश्वासलाई खण्डित हुन दिनु हुँदैन । नेपाली काँग्रेसका साथीहरूले उच्च मनोबल र विश्वासका साथ राष्ट्रसेवामा समर्पित हुनुपर्दछ । हामीले शीर झुकाउनुपर्ने कुनै कारण छैन । नेपाली काँग्रेसको विधानमा समय सापेक्ष संशोधनको आवश्यकता छ । विधानले नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ । पार्टीमा समानुपातिक प्रतिनिधित्व भएको छ । पार्टीलाई संगठनात्मक रूपले थप सबल बनाउनकालागि विधानमा संशोधनबारे आवश्यक छलफल गर्न सकिन्छ ।

उनले भने – ‘जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा हामी दृढ छौँ । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लान सक्दछ । नेपाली काँग्रेस सदैव संवाद, सहमती, सहकार्यको नीति अवलम्बन गरेको छ । देशमा विद्यमान राजनीतिक दलहरूमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर कतिपय हाम्रा साझा विषय छन् । देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालिन न्यायजस्ता विषयमा हामीमा समान धारणा हुनुपर्छ । यसको निम्ति संवाद, सहमती, सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्दछ । सबै पार्टीका बीचमा निरन्तर संवाद र सहमतीको अभ्यास गर्नुपर्दछ ।’

उनले देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, संक्रमणकालिन न्यायजस्ता विषयमा सबै राजनीतिक दलहरूका बीचमा समान धारणा हुनुपर्ने बताए । उनले यसको निम्ति संवाद, सहमती र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

 


सम्बन्धित खबरहरु