मन्त्री ज्वालालाई पदबाट राजीनामा दिन सांसदहरुको दबाब

ओकेखबर संवाददाता ६ फाल्गुन २०८०, आईतवार १८:१० मा प्रकाशित ( महिना अघि) १५६ पाठक संख्या

काठमाडौं । सांसदहरुले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकारले गठन गरेको छानविन समितिले मन्त्री ज्वालालाई दोषि देखाएकाले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने सांसदहरुको माग छ ।

 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मन्त्री ज्वालाको गल्ती प्रमाणित भइसकेको भन्दै नैतिकताको आधारमा पदमा बसिराख्न नमिल्ने बताए । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि अख्तियारको छानविनमा परेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने बताए । नेकपा एमाले सांसद रघुजी पन्तले विगतदेखि नै अख्तियारको छानविनमा परेका मन्त्रीले राजीनामा दिने प्रचलन रहेको भन्दै स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

 

त्यस्तै भौतिक पूर्वाधार मन्त्रीको राजीनामा पनि आफूहरुको अडान रहेको स्पष्ट पारे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा माग गरे । राजीनामा नआएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाई छ ।

नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले पनि मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राज्यको सम्पति अनाधिकृत रुपमा भोगचलन गर्नेहरुलाई कारबाही गर्न पहल लिइरहेको बताए । उनले सरकार सुशासन कायम गर्न लागि परेको बताए ।

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ललिता निवास जग्गा प्रकरणमा अदालतले गरेको फैसला प्रशंसनीय भएको बताए । उनले यसलाई आफूले सकारात्मक रुपमा लिएको लिएको पनि बताए । उनले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा सत्तामा बस्नेहरुसँग नैतिकता नभएको टिप्पणी गरे ।


सम्बन्धित खबरहरु