माओवादी केन्द्रको निष्कर्ष- रूपान्तरण अभियान सफल भयो

ओकेखबर संवाददाता २८ माघ २०८०, आईतवार १७:२८ मा प्रकाशित ( महिना अघि) ९५ पाठक संख्या

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सातवटा भौगोलिक र अन्य ३ वटा गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरूले अभियानको प्रतिवेदन राख्दै बोलेका थिए ।

त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि बोलेका थिए । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरूले विशेष रूपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेस गरेको जानकारी दिए ।

उनले अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको बताए । बैठकमा बोल्ने नेताहरूले आगामी दिनमा पार्टी नेता, कार्यकर्ताहरूको कामको आधारमा मूल्यांकन गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिनुपर्ने व्यवस्था गर्न माग समेत गरेका उनले उल्लेख गरे ।

अभियानले पार्टी नेता तथा कार्यकर्ताहरूको मूल्यांकनको आधार पनि राम्रो बनेको प्रवक्ता सापकोटाको भनाई छ ।

उनले भने ‘अभियानले कसले कति काम गर्यो ? कसले गरेन ? को सक्रिय भयो, भएन भन्ने कुरा धेरै राम्रो सँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ । वक्ताहरूले के भनेका छन् भने अब चाहिँ कामको आधारमा मूल्यांकन गरेर जो सक्रिय छ, सक्रियताको आधारमा, कामको आधारमा मूल्यांकन गरेर राम्रोसँग खट्नेलाई प्रोत्साहन गर्नुपर्यो । तिनीहरूलाई पुरस्कारको व्यवस्था पनि गर्नुपर्यो । नखट्नेहरूलाई दण्डित पनि गर्नुप¥यो भन्नेखालको आज रिपोर्टमा आएको छ । समग्रमा भन्नुपर्दा ७५ प्रतिशत नेता, कार्यकर्ताहरू परिचालित भएका छन् । ती कार्यकर्ताहरूले जनतामा केही आशा जगाएका छन् । आम नेता र कार्यकर्ताले जनताको कुरा सुनेका छन् । समाजसेवा गरेका छन् । विकास निर्माणको काममा सहभागी पनि भएका छन् । जबसम्म मोर्चा र पार्टी चलायमान, गतिशील, जीवन्त भएको छ । आजको रिपोर्टमा जोड दिएर सबै इन्चार्ज र अध्यक्षहरूले के भन्नुभएको थियो भने अभियानभन्दा पहिला हाम्रो पार्टीबाट अन्यत्र जाने क्रम बढेको थियो । अभियान सुरु भएपछि अन्य पार्टीबाट आउने क्रम बढेको छ । सबै प्रदेशहरूमा त्यो देखा परेको छ । सरकारले महत्वपूर्ण कामहरु सुशासन, समृद्धिको बारेमा राम्रा कामहरु गरेकोमा जनतासम्म नपुगेको स्थिति भएकोमा अहिले जनताकोमा पुगेको कुरा आएको थियो । समग्रमा भन्नुपर्दा आजको रिपोर्टमा अभियान सफल भएको छ । सार्थक भएको छ । हामीले जे लक्ष्य र उद्देश्य राखेर यो अभियान सञ्चालन गरेका थियौँ यो अभियान सफल भएको छ भन्ने निष्कर्ष नै छ ।’

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमवार (भोलि) बिहान ११ बजे पुनः बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

 


सम्बन्धित खबरहरु