पूर्वराजालाई माधव नेपालको सुझाव– प्रधानमन्त्री बनेर देशलाई विकल्प दिनुस्

ओकेखबर संवाददाता २० माघ २०८०, शनिबार १४:५० मा प्रकाशित ( महिना अघि) ९५ पाठक संख्या

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

 

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए ।

उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे । उनले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए ।

उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए । उनले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप लगाए ।

उनले भने– ‘अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरुले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन । राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको, न खाजे, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदी राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ । चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदी विवाद हो भने प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस् ।’


सम्बन्धित खबरहरु