यू-१९ विश्वकपमा न्युजिल्यान्डको सामना गर्दै नेपाल

ओकेखबर संवाददाता ७ माघ २०८०, आईतवार ०८:२८ मा प्रकाशित ( महिना अघि) १०९ पाठक संख्या

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समूह डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्ने भएको हो ।

 

खेल नेपाली समय अनुसार दिउँसाे १: ४५ बजेदेखि सुरु हुँदै छ । विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् । यस विश्वकपमा नेपाल समूह डी’मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । अब नेपालले जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका छ ।

यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ । यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीच तेस्रोपटक भेट हुने भएको हो ।

नेपाल र न्युजिल्यान्ड अन्तिमपटक सन् २०१६ मा भिडेका थिए । बंगलादेशको फतुल्लाहमा भएको प्रतिस्पर्धामा नेपालले न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । यसअघि यू-१९ विश्वकपमै यी दुई टोलीबीचको पहिलो भेट सन् २००६ मा भएको थियो । त्यस वर्ष फेब्रुअरीमा कोलोम्बोमा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो ।

विश्वकप खेल्ने नेपाली टिम:- देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यस विश्वकपको समूह ए’मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह बी’मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । समूह सी’मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह डी’मा पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड र नेपाल रहेका छन् ।


सम्बन्धित खबरहरु