राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

ओकेखबर संवाददाता २८ पुष २०८०, शनिबार १५:२३ मा प्रकाशित ( महिना अघि) १३२ पाठक संख्या

काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

 

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

 

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा रहेका छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो ।

 

आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार रहेका छन् ।

 

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेका छन् ।


सम्बन्धित खबरहरु