सिन्धुली । कोरोना भाइरसको संक्रमण हुने डरले बन्द भएका विद्यालयहरु धमाधम खुल्न थालेका छन् । देशका विभिन्न ठाउँमा विद्यालय खोल्ने तयारी भइरहेको छ ।
लामो समय बन्द रहेका सिन्धुलीका विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ ।
स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न दिने निर्णय भएसँगै विद्यालय संचालन हुन थालेका हुन् ।
केही विद्यालय भने स्थानीय तहको निर्णय कुरेर बसेका छन् । सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने दिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयले जोरबिजोर प्रणालीबाट कक्षा संचालन गरिहेका छन् ।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएकाले स्वास्थ्य मापदण्ड पालना गदै जोरविजोर प्रणालीबाट कक्षा संचालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारीले बताए ।
मरिण गाउँपालिका क्षेत्रमा पनि मंगलबारदेखि विद्यालय संचालन हुने भएको छ ।
तीनपाटन गाउँपालिका क्षेत्रका केही विद्यालयमा मात्र पठनपाठन सुरु भएको छ ।
विद्यालय व्यवस्थापन समितिले तत्कालै विद्यालय नखोल्ने निर्णय गरेकाले विद्यालय संचालन हुन नसकेको तीनपाटन गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताए ।
अर्को साताबाट गाउँपालिकाको सबै विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै पठनपाठन सुरु हुने उनले जनाए ।
कमलामाई नगरपालिका क्षेत्रका विद्यालय सोमबारबाट संचालन भएका छन् ।
यस्तै फिक्कल गाउँपालिका र सुनकोशी गाउँपालिका क्षेत्रका विद्यालय भने संचालन भएका छैनन् । केही दिनमै बैठक बसी विद्यालय खुलाउने तयारी भएको फिक्कल गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले निर्णय नगरेको कारण हालसम्म विद्यालय संचालन हुन नसकेको गाउँपालिकाका अधिकारीहरुको भनाइ छ ।