प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाँदै

ओकेखबर संवाददाता २१ भाद्र २०८१, शुक्रबार ०८:१५ मा प्रकाशित ( हफ्ता अघि) २२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा आरजु राणालगायत सहभागी हुनेछन् ।

मन्त्री भण्डारीका अनुसार मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । लामाले केही समयअघि रेडियो नेपालबाट २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिएका थिए ।

बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलाडीसहित प्रशिक्षकलाई पाँच लाख ८५ हजार रुपियाँ र टिम व्यवस्थापनका लागि दुई लाख ९२ हजार रुपियाँसहित सम्मान प्रदान गर्ने निर्णय भएको बताए ।


सम्बन्धित खबरहरु