नेपाललाई ऐतिहासिक कांस्य दिलाएकी पलेशा काठमाडौं पुग्दै, नगर परिक्रमा गराइने

ओकेखबर संवाददाता १९ भाद्र २०८१, बुधबार ०७:२४ मा प्रकाशित ( हफ्ता अघि) २४ पाठक संख्या

काठमाडौं । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ । पलेशा बिहान काठमाडौं ओर्लिदै छन् ।

नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

परिषदका अनुसार साढे ८ बजेदेखि शुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा स्वागत गरिने जानकारी दिएको छ ।

सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने
पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् । यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्नेछिन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


सम्बन्धित खबरहरु