क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्छ : बाबुराम भट्टराई

ओकेखबर संवाददाता ८ भाद्र २०८१, शनिबार ०८:०८ मा प्रकाशित ( हफ्ता अघि) ४६ पाठक संख्या

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा बोल्दै उनले नेपालमा शक्ति राष्ट्रहरुले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या नहुने बताए।
उनले नेपाल जटिल भूराजनीतिक देश भएकाले धेरै शक्तिले खेल्ने कोसिस गर्ने बताउँदै त्यसलाई दोष दिनुभन्दा राजनीतिमा पढेका मान्छे भित्र्याउन सके मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताए। उनले सादगी, नैतिकवान, मान्छेहरु राजनीतिमा आउनैपर्नेमा जोड दिए। अध्यक्ष डा भट्टराईले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई अघि बढाउनका लागि पनि नैतिक र इमान्दार राजनीतिज्ञको खाँचो रहेको औँल्याए।
आत्मकथाले डा राउतको जीवन संघर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा भट्टराईले बताए। उनले भने, ‘कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सिकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ । किताबमा सिकेजीको मात्रै संस्मरण नभएर समग्र मधेश र मधेशीप्रति राज्यले सदियौँदेखि गरेको फेहरिस्त समेटिएको छ।’ डा भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्ने पनि बताए।
कार्यक्रममा लेखक तथा जनमत पार्टीका अध्यक्ष डा राउतले मधेशीहरूलाई नेपाली भन्ने तर मधेशीको पहिचान बन्न नदिने कुरा गलत भएको बताए। समारोहमा डा राउतले मधेश आफ्नो पहिचान हो भने किन पहिचान नपाएको भनेर गुनासो पनि गरे।
उनले कुनै पनि ठाउँका लागि पहिलो कुरा पहिचान भएको समेत दाबी गरे। उनले मधेशीलाई पहिचान दिन नखोज्नु गलत भएको बताए।


सम्बन्धित खबरहरु