ओली, प्रचण्ड र रवि बसेर गरे राजदूतको भागवण्डा, कसलाई कति ?

ओकेखबर संवाददाता ८ असार २०८१, शुक्रबार ०६:४२ मा प्रकाशित ( महिना अघि) ६६ पाठक संख्या

काठमाडौ । सत्ता गठबन्धनका तीन प्रमुख दलले राजदूतको भागवण्डा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेबीचको भएको छलफलले ११ देशको राजदूतमा भागवण्डा गरेको हो ।

बालुवाटार स्रोतका अनुसार हाल खाली रहेका ११ मध्ये एमालेले आठ, रास्वपाले दुई र मा‌ओवादी केन्द्रले एक राजदूत पाउने सहमति भएको छ । २४ जेठमा बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरूलाई फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र भाग पाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार भोलि नै केही राजदूत नियुक्त हुने सम्भावना छ । कुन देशको राजदूत कसले पाउने भन्ने कुरामा भने सहमति भइसकेको छैन । स्रोतका अनुसार रास्वपाले भारत र अमेरिकामध्ये एक राजदूत आफूलाई दिन माग गरेको छ । तर त्यसमा प्रचण्ड र ओली तयार भएका छैनन् ।


सम्बन्धित खबरहरु