राप्रपालाई जनताले विश्वास गर्ने र चुनाव जित्ने सम्भावना देशैभर छ : लिङदेन

ओकेखबर संवाददाता ३ असार २०८१, आईतवार ०९:०० मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूका निम्ति अहिले सहज अवस्था सिर्जना हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको उल्लेख गरे । सोही कारण आफ्नो पार्टीलाई सहज अवस्था सिर्जना हुँदै गएको उनले जिकिर गरे ।

उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यहीअनुसार तयारी गरी जनताको मत जित्नुपर्नेमा जोड दिए । त्यसो गर्न सके निर्वाचन जित्न कुनै कठिनाइ नहुने उनको भनाइ थियो ।

निर्वाचनका क्रममा जुम्लामा सहकार्यका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्दा अस्वीकार गरेको स्थानमा राप्रपाले एक्लै जितेको उनले स्मरण गरे । सही उमेदवार उठाइए जनताले विश्वास गर्ने र चुनाव जित्ने सम्भावना देशैभर रहेको उनले जिकिर गरे ।

उनले राप्रपाकै नेताहरूले पार्टीविरुद्ध भ्रम छर्ने, विवाद ल्याउने काम गरेकोे बताए । कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा भएको उनले बताए । पार्टीलाई बलियो बनाउन भूमिका खेल्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।


सम्बन्धित खबरहरु