देउवाले लिङ्देनलाई पठाएको पत्रमा के छ?

ओकेखबर संवाददाता २६ जेष्ठ २०८१, शनिबार ०८:२४ मा प्रकाशित ( महिना अघि) ७१ पाठक संख्या

काठमाडौं । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पुर्याउन नेपाली कांग्रेसले राप्रपाको सहयोग खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर समर्थन मागेका छन् ।

गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट कांग्रेस संसदीय दलका नेता पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

पाण्डेले आउँदो जेठ २८ गते विश्वासको मत माग्ने तयारी गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेससँग २७ जना मात्र सांसद छन् । उसलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

गण्डकीमा राप्रपाका दुई सांसद छन् । यस्तै, स्वतन्त्र दिपक मनाङे र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्याउने पाण्डेको रणनीति रहेको छ । मनाङेले ३० जना सांसद पुर्याए आफूले ३१ पुर्याइदिने आश्वासन दिएका छन् । नेपालका देवकोटाको समर्थन भने अझै निश्चित छैन ।

कांग्रेस स्रोतका अनुसार देउवाले पत्रमा राप्रपाको सहयोगले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्ने मात्र नभइ दलहरुबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

पत्रको अंश यस्तो छः

‘गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतले संविधानको धारा १६८/३ बमोजिम सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको विशिष्ट परिस्थितिमा पाण्डे नेतृत्वमा सरकार गठन भएको यहाँलाई विदितै छ ।

प्रदेशको नीत कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले जेठ २८ गते विश्वासको मत लिन लाग्नुभएको यस विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्न अनुरोधसहित कांग्रेसको तर्फबाट तपाईंलाई यो पत्र पठाएको छु ।

यो विश्वासको मतले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्न मात्र नभइ दलहरुबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेमा कांग्रेस विश्वस्त छ ।’


सम्बन्धित खबरहरु