व्यासको ३२औँ पटकमा अन्तिम फैसलामा के छ?

ओकेखबर संवाददाता १२ जेष्ठ २०८१, शनिबार ०७:४१ मा प्रकाशित ( महिना अघि) ७३ पाठक संख्या

पोखरा । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना २ असारमा गर्न आदेश गरेको छ।

०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै १२ जेठ ०७९ मा मतगणना कार्य बदरकाे माग गेदै पुन: मतगणनाका लागि अदालतमा रिट दायर गरेका थिए।

जेशीले रिट दायर गरेको २३ महिना २० दिनपछि अदालतले १ जेठमा पुनः मतगणना गर्न आदेश गरेको थियो।न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जोशीको दाबी पुग्ने आदेश गरेसँगै गरपालिकाकाे पुनः मतगणना हुने भएको हो।

१ जेठमा भएको फैसलाको पूर्णपाठमा शुक्रबार सार्वजनिक भएको जोशीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए। पूर्ण पाठमा २ असार बिहान १० बजेदेखि पोखरामा मतगणना गर्न भनिएको छ। आदेशमा मतगणना पोखरामा गर्ने भनिए पनि कुन स्थानमा गर्ने भन्ने स्थान तोक्ने कामपछि रजिष्टारले गर्ने सुवेदीले जानकारी दिए।

यस्तो छ पूर्णपाठमा गरिएको आदेश

माथि विवेचित आधार र कारणबाट निवेदक जोशीको निवेदन दावीका सम्बन्धमा विपक्षीहरुबाट प्राप्त लिखित जवाफ सहित विपक्षी जिल्ला निर्वाचन कार्यालय, तनहुँबाट प्राप्त व्यास नगरपालिका तनहुँको प्रमुख पदको निर्वाचन सम्बन्धमा भएको मतगणना सम्बन्धी अनुसूची– ५६ को फारम तथा एकिकृत मतगणना फारम समेतको अध्ययन गरी हेर्दा, व्यास नगरपालिका वडा नं. १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा निवेदकले ३० मत प्राप्त गरेको देखिएकोमा सो मत एकिकृत फारममा समावेश गरेको नदेखिई सो मत निजले प्राप्त गरेको कूल मतमा जोडेको देखिएन। त्यसैगरी, अनुसूची–५८ को फारममा व्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३०,१८३ मत खसेको देखिएकोमा सो पदका प्रत्यासीहरुले २५,५९५ मत प्राप्त गरेको र ४,५८८ मत बदर भएको भन्ने देखिन्छ।

सो बदर मत मतगणना सम्बन्धी अनुसूची–५६ को फारममा उल्लेख भएको बदर मतसँग मिल्न भिड्न आएको नदेखिनुका अतिरिक्त उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भत्ती उल्लेख भएको ३०,१८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४४५ मत उल्लेख भएको देखिंदा सो समेत जोडजम्मा गर्दा खसेको मत भन्दा बढी हुन जाने देखिएको समेतको आधार कारणबाट निवेदन दावी बमोजिम निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ४४ को उपदफा (१) बमोजिम कानून बमोजिम मतगणना भएको नदेखिंदा सोही ऐनको दफा ४४ को उपदफा (२) बमोजिम व्यास नगरपालिका तनहुँको नगर प्रमुखको पदमा स्थानीय तह निर्वाचन २०७९ मा भएको निर्वाचनको मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गर्ने आदेश गरिदिइएको उल्लेख छ।

उपरोक्त अनुसार दोहोर्याई मतगणना गर्ने कार्यको लागि मिति २ असार बिहान १०ः०० बजे सुरु हुने जानकारी सहित प्रस्तुत आदेशको प्रतिलिपी निवेदक र विपक्षीहरुलाई समेत दिई पुनः मतगणना गर्ने प्रयोजनार्थ लाग्ने खर्च व्यवस्थापन र आवश्यक सहयोगका लागी निर्वाचन आयोग, काठमाण्डौंमा लेखी पठाई पुनः मतगणनाको कार्य संचालन गर्न आवश्यक पर्ने जनशक्ति, स्थान समेतको व्यवस्थापन गरी मतगणनाको कार्य सम्पन्न गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ४४ को उपदफा (५) बमोजिमको मतगणनाको तालिका सहितको प्रतिवेदन पेश गर्न यस अदालतका रजिष्ट्रारका नाममा समेत आदेश गरेको छ।


सम्बन्धित खबरहरु