कांग्रेसका ३ प्रदेश प्रमुख बर्खास्त, सरकारले गठन गर्‍यो ५ क्याविनेट समिति

ओकेखबर संवाददाता २८ फाल्गुन २०८०, सोमबार १९:२८ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौँ । सरकारले तीन प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरूलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै मन्त्रिपरिषद्का विभिन्न समितिहरू समेत बनाइएको छ ।

मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताइन् ।

त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिइन् ।

मन्त्री शर्माले केन्द्र सरकार र प्रदेश सरकारका बीचमा आवश्यक पर्ने समन्वय गर्न सरल र सहज होस् भन्ने उद्देश्यसहित प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ व्यक्तिहरूलाई बनाउन लागिएको बताइन् ।


सम्बन्धित खबरहरु