बेइमानीको सरकार धेरै टिक्दैन : गगन थापा

ओकेखबर संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १७:१२ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनले भनाइ छ । उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए । उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको पनि बताए ।

“निर्वाचन अगाडि गठबन्धन गर्नु हुँदैन थियो तर गर्‍यौँ । गठबन्धन गरिसके पछाडि यो गठबन्धनभित्र आबद्ध भएका प्रत्येक दलका सांसदहरू चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिह्नमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकूलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन,” उनले भने ।

उनले नेपाली कांग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।


सम्बन्धित खबरहरु