एकीकृत समाजवादी पनि सरकारमा जाने

ओकेखबर संवाददाता २३ फाल्गुन २०८०, बुधबार १४:०१ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो। सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ।

समाजवादी उपमहासचिव डा. विजय पौडेलले सचिवालय बैठकमा नयाँ गठबन्धनमा मिसिँदै सरकारमा जानेबारे छलफल भइरहेको बताएका छन्। यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो।

तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री थिए। उता नन्दा चपाईँ भौतिक राज्यमन्त्रीको भूमिकामा थिइन्।

मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए।

उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो।


सम्बन्धित खबरहरु