उपनिर्वाचन : अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने

ओकेखबर संवाददाता १६ फाल्गुन २०८०, बुधबार १६:३६ मा प्रकाशित ( महिना अघि) १२१ पाठक संख्या

काठमाडौं । निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

प्रदेशसभा सदस्य चयनका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्वीकृत कार्यक्रमअन्तर्गत १८ फागुनमा आयोगको वेबसाइट मतदाता नामावली प्रकाशन गरिने छ । उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैतसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिए ।

उक्त अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।


सम्बन्धित खबरहरु