मन्त्री ज्वालाबारे प्रधानमन्त्री किन मौन ?

ओकेखबर संवाददाता १२ फाल्गुन २०८०, शनिबार ०८:५६ मा प्रकाशित ( महिना अघि) १८१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बालकुमारी घटनामा दोषी मानिएका भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालालाई हटाउनेबारे मौन छन् । मन्त्री ज्वालाको दल एकीकृत समाजवादीले उक्त घटनाको अनुसन्धानका लागि गठन भएको आयोगको प्रतिवेदनको गम्भीर अध्ययन नगरी नहटाउन आग्रह गरेपछि दाहालले निर्णय लिएका छैनन् ।

प्रतिपक्ष दल एमालेलगायतले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै संसद् अवरुद्ध गरेपछि दाहाल दबाबमा परेका छन् । तर गठबन्धनमा रहेको दल एकीकृत समाजवादीको आग्रहका कारण अलमलमा परेका छन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्री ज्वालाले आफैँ राजीनामा दिनु उपयुक्त हुने प्रधामन्त्री दाहालको चाहना छ । ‘विवादमा आइसकेपछि आफैँ राजीनामा दिनु उपयुक्त हुने प्रधानमन्त्रीज्यूको चाहना छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रलाई मन्त्री हटाउने अधिकार भएपनि एकपटक एकीकृत समाजवादी अध्यक्ष माधवजीसँग सल्लाह गर्दैहुनुहुन्छ ।’

समाजवादीको बिहीबारको केन्द्रीय सचिवालयको बैठकले बालकुमारी घटनामा आयोगले दिएको प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा छलफल गरेपछि मन्त्री ज्वालाबारे निर्णय गर्ने निश्कर्ष निकालेको थियो । समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीले आफ्नो दलसँग छलफल नगरी हटाउन नमिल्ने बताए ।

‘प्रकाश ज्वालाजी त्यो बाटो जानु कमजोरी भयो होला । तर उहाँले प्रहरी परिचालन गरेको होइन, गोली चलाउने आदेश दिएको पनि होइन’ उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो दलसँग छलफल नगरी ज्वालाजीलाई हटाउन मिल्दैन ।’


सम्बन्धित खबरहरु