कांग्रेस महासमिति बैठक : देउवा र गगन थापाबीचकाे विवाद के हाे ?

ओकेखबर संवाददाता ७ फाल्गुन २०८०, सोमबार २०:१७ मा प्रकाशित ( महिना अघि) ८१ पाठक संख्या

काठमाडाै‌ । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गरे ।

कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँच जना सहभागी छन् । बैठकमा केन्द्रीय समितिका एक सय ६५ जना, सङ्घीय निर्वाचन क्षेत्रबाट एक हजार सात सय ८० जना, जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापतिलगायत सहभागी भएका कांग्रेसले जनाएको छ ।

बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुनेछ । यस्तै महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुहुनेछ । प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

यसैबीच महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने साङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् । थापा र काेइरालाले प्रतिवेदनमै यो विषय राख्न खोजे पनि सभापति देउवा पक्षले आवश्यकताका आधारमा जहिले अरू दलसँग गठबन्धन गर्न सकिने भएकाले प्रतिवेदनमा यो विषय राख्न जरुरी नभएको बताएको छ ।

यही विवादले गर्दा महासमितिको बैठक शुरु हुने बेलासम्म पनि कार्यसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको थिएन । यसै विषयलाई लिएर सभापति देउवा र महामन्त्री गगन थापाबीच भनाभन भएको थियो । गगन र शेखर पक्षले गठबन्धनले गर्दा कांग्रेसको नीति र सिद्धान्त मासिँदै गएको आरोप लगाएका छन् । देउवा पक्षले भने देशमा परिवर्तन उल्टाउने शक्ति सलबलाइरहेको अवस्थामा गठबन्धन गर्नु ठिक भएको तर्क गर्दै आएका छन् ।

आजको उद्घाटन समारोहमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने बताए । देउवाले जति बेला गठबन्धनको आवश्यकता पर्छ त्यति बेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए।

 

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । नेता विश्वकर्माले भोलि बिहानबाट सुरु हुने महासमिति बैठकमा सबै प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको बताए ।

महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका देउवाले त्यसबारे के भइरहेको छ भनेर सोधखोज र छलफल गर्न बैठक बोलाएको नेता विश्वकर्माको भनाइ छ । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय रहेकाले उक्त विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापति देउवा छन् ।

महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पनि सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने धारणा राखेका थिए । तर महामन्त्री गगन थापा भने कांग्रेस महासमिति बैठकबाटै आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने निर्णय गरेर जानुपर्ने पक्षमा छन् । उनले फागुन ३ गते केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावमा पनि सोही कुरा समेटिएको छ ।

महामन्त्री थापाले भने चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन तर आफू उक्त विषय सच्याउन तयार नभएको बताउँदै आएका छन् । सोही विषयमा आइतबार र सोमबार बिहान समेत नेताहरूबिच छलफल भएको थियो । तर दुवै पक्ष अडानबाट टसको मस नभएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।


सम्बन्धित खबरहरु