दुर्गा प्रसाईं राप्रपा प्रवेश गर्ने !

ओकेखबर संवाददाता २ फाल्गुन २०८०, बुधबार ०६:५४ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंलाई पार्टीमा भित्र्याउन पहल थालेको छ । राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमा संयोजक रहेको प्रसाईँसँग वार्ता गर्न पहल थालेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रसाईंसँग एकताका लागि संवाद गर्न महामन्त्री धवल शमशेर राणा र उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ । उनीहरूले प्रसाईँसँग वार्ता गरेर पार्टीमा भित्र्याउन प्रयास गर्नेछन् । श्रेष्ठले प्रसाईंको तर्फबाट पनि संवादका लागि समिति बनेपछि छलफलले तीव्रता पाउने बताए ।

श्रेष्ठका अनुसार प्रसाईले सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका थिए । सो भेटमा मिलेर आन्दोलन गर्न तथा मंगलबार तय भएको पार्टीको कार्यक्रममा सहभागी हुन निम्ता दिएका थिए । तर, लिङ्देनले प्रसाईंको निम्ता भने स्वीकार गरेका थिएनन् । यद्यपि आगामी दिनमा पार्टी एकता नै गरेर जानेबारेमा सकारात्मक कुरा भएपछि राप्रपाको तर्फबाट दुई सदस्यीय समिति बनेको बताइएको छ ।

 

प्रसाईं र राप्रपाको एकै एजेन्डा भए पनि विगतमा राप्रपाले प्रसाईंले गरेको आन्दोलनमा संस्थागत साथ दिएको थिएन । राप्रपामा राजेन्द्र लिङ्देनबाहेकका कैयन पदाधिकारीहरू प्रसाईँको अभियानमा नरम देखिन्छन् । विशेषगरी धवल शमशेर राणालगायतका नेताहरूले प्रसाईंको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने र सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।


सम्बन्धित खबरहरु