रविको गुनासो- जिवी राईलाई पक्रनुको सट्टा गृहमन्त्री मेरो पछि लागे

ओकेखबर संवाददाता १७ माघ २०८०, बुधबार ०७:४१ मा प्रकाशित ( महिना अघि) १२९ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जीवी राईलाई पक्रिन नचाहेको बताएका छन् ।

मंगलबार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरूले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जीवी राईलाई पक्रिन नचाहेको उल्लेख गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरूलाई न्याय दिन समेत नचाहेको जिकिर गरे ।

उनले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको बताए । गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताए । सभापति लामिछानेले सरकारले जीवी राईलाई समाउन लागे सक्ने पनि बताए ।

उनले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीवीलाई किन समाउन नसकेको ? भनी प्रश्न समेत गरे । सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको आरोप थियो ।

उनले भने- ‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितको लागि न्याय दिनुपर्‍यो। सहकारी पीडितहरूको लागि काम गर्नुपर्‍यो। सहकारीबाट भागेकाहरूलाई समातेर भएपनि, यिनको सम्पत्ति अहिल्यै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्नुपर्‍यो भनेर लागि परेको भए अहिलेसम्म कयौँ पीडितहरूले पैसा पाइसक्थेँ। केही न केही सुरुवात हुन्थ्यो। तर उहाँको ध्यान त यसलाई चाहिँ छोड्नुभएन। यो रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त। यता खोज्नुस्। त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो। केही भए पो पाउनु ? भए त किन छोड्थे र ? यति समय उहाँले पीडितहरूलाई न्याय दिने, पीडितहरूको पैसा फिर्ता लिने, त्यसको लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य, क्षमतावान् मान्छेहरू राख्ने र तुरुन्त राज्यले काम गर्ने र पहिला तिनलाई समाउँदै गर्ने, थुन्दै गर्ने तर तिनको सम्पत्ति कहाँ छ, तिनको कहाँ–कहाँ लगानी छ ? तिनलाई सुनिश्चितता गरेर एउटा योजना बनाएर पीडितहरूलाई न्याय दिन सोचेको भए, मेरो पछि लाग्ने समय पीडितहरूलाई दिन लागेको भएपनि पीडितलाई न्याय दिन सकिन्थ्यो ।’


सम्बन्धित खबरहरु