अब गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं : वर्षमान पुन

ओकेखबर संवाददाता १३ माघ २०८०, शनिबार १२:१५ मा प्रकाशित ( महिना अघि) १०६ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले यस्तो बताएका हुन् ।

 

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेसले आफूहरूको विश्वास गुमाएको उनको टिप्पणी छ । ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ’, पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रूपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमानदारीपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’

यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए । ‘दुई वर्षअघि पनि जसपाको राष्ट्रियसभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो । केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले अगाडि भने, ‘कांग्रेसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन ।’

पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भएपनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी हुन् ।


सम्बन्धित खबरहरु