राष्ट्रियसभा निर्वाचन : सात प्रदेशमा १९ पदका लागि मतदान हुँदै, नतिजा आजै आउने

ओकेखबर संवाददाता ११ माघ २०८०, बिहीबार ०७:०८ मा प्रकाशित ( महिना अघि) ९१ पाठक संख्या

काठमाडौं । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मत हाल्न पाउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

 

प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन्। पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ ।

 

मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने र बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने आयोगको भनाई छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेको छ ।

 


सम्बन्धित खबरहरु