पुलिस र सुदूरपश्चिमको लगातार दोस्रो जित, बाग्मतीको जितमा सूर्य तामाङले लिए ‘ह्याट्रिक’ सहित ६ विकेट

ओकेखबर संवाददाता २ माघ २०८०, मंगलवार १८:२० मा प्रकाशित ( महिना अघि) १०६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश लगातार दोस्रो खेलमा विजयी भएका छन् ।

 

पुलिसले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १ सय ६७ रनको लक्ष्य पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । पुलिसका अर्जुन साउदले नट आउट ६२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरी १७ बलमा ३८ रन बनाउँदै नट आउट रहे ।

 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४८ ओभर २ बलमा १ सय ६६ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले शतक बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका करण केसीले ३ तथा ललित राजवंशी र सुनिल धमलाले समान २ विकेट लिए । यो जितसँगै पुलिस ४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । कोशीको यो लगातार तेस्रो हार हो ।

 

प्रतियोगिताको अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १ सय ३४ रनले हरायो । सुदूरपश्चिमले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ ओभर २ बलमा १ सय ४३ रनमा अल आउट भयो । कर्णालीका दिवन पुनले सर्वाधिक ३८ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए ।
यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७७ रन बनायो । सुदूरपश्चिमका ३ जना खेलाडीले अर्धशतक बनाए । उसका खडक बोहोरा ८०, टेक रावत ५९ र किरण ठगुन्नाले ५० रन बनाए । कर्णालीका दिनेश अधिकारी, उनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम ४ अङ्कसहित दोस्रो स्थानमा छ । कर्णाली २ खेलमा २ अङ्कसहित ८ औँ स्थानमा छ ।

 

यस्तै अर्काे खेलमा बाग्मती प्रदेशले मधेस प्रदेशलाई ८६ रनले हराएको छ । बाग्मतीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेस २९ ओभरमा १ सय ४ रनमा अल आउट भए । मधेसका पवन सर्राफले सर्वाधिक ४५ रन बनाए । बाग्मतीका सूर्य तामाङले ‘ह्याट्रिक’ सहित ६ विकेट लिए ।

 

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मती ४९ ओभर २ बलमा १ सय ९० रनमा अल आउट भयो । बाग्मतीका प्रतिस जीसीले ५९ रन बनाए । मधेसका रुपेश सिंह र अर्निको यादवले समान २ विकेट लिए । यो जितसँगै बाग्मती २ अङ्कसहित छैटौँ स्थानमा छ । मधेस समान अङ्क भए पनि नेट रन रेटको आधारमा सातौँ स्थानमा छ ।


सम्बन्धित खबरहरु