उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनीत

ओकेखबर संवाददाता २९ पुष २०८०, आईतवार ०७:५० मा प्रकाशित ( महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको छ ।

शनिबार कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो । नाउपाले विधान संशोधन गरी दुई महासचिव हुने व्यवस्था समेत गरेको छ ।

पार्टीको विधानमा ३९ पदाधिकारीसहित २४६ जना केन्द्रीय सदस्य निर्वाचित र २५५ जना मनोनीत गर्ने व्यवस्था छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्ष निर्विरोध चयन गरेको छ । सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बाँस्तोला, कर्णाली प्रदेश उपाध्यक्षमा महेन्द्र पुन, कोसी प्रदेश उपाध्यक्षमा इन्द्रकुमारी लिम्बू र मधेस प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् ।

यस्तै, सात सहमहासचिवमा रामलाल डगौंरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमारी लावती, राजन गुरुङ, प्रेमवती राना र नीरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

 

साथै, सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजयकुमार बस्नेत र सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिष्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । रासस


सम्बन्धित खबरहरु