निर्वाचनपछि कस्तो बन्दैछ राष्ट्रियसभा ?

ओकेखबर संवाददाता २७ पुष २०८०, शुक्रबार ०७:०९ मा प्रकाशित ( महिना अघि) ९१ पाठक संख्या

काठमाडौं । अब राष्ट्रिय सभाको दलीय हैसियत परिवर्तन हुने भएको छ । प्रतिनिधिसभामा ३२ सीटसहित तेस्रो ठुलो दल रहेको माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बन्ने भएको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनपछि माओवादी केन्द्र ठुलो दल बन्ने भएको हो । राष्ट्रिय सभामा अहिले माओवादीका १६ सांसद छन् । ३ जना बिदा हुँदा माओवादीले ६ थपेर आफ्नो सांसद संख्या १९ पुर्‍याउनेछ ।

त्यस्तै अहिले १० सांसद रहेको कांग्रेस ४ जना बाहिरिँदा १० थपेर १६ पुर्‍याएर दोस्रो दल बन्दैछ । त्यस्तै नेकपा एमालेका १७ सांसद मध्ये ९ जना बाहिरिएपछि ८ सिटमा सीमित हुने छ । यस निर्वाचनमा एमालेले कुनै सिट जित्ने सम्भावना रहेको छैन । त्यस्तै एकीकृत समाजवादीका अहिले ८ सांसद रहेका छन्, जसमा २ जना बाहिरिँदा २ जना नै थपिने छन् । अब यस निर्वाचनपछि राष्ट्रिय सभामा एमाले र एकीकृत समाजवादीको सिट बराबर हुने छ ।

तत्कालीन नेकपा विभाजनपछि वामदेव गौतम कुनै पनि पार्टीमा लागेका छैनन् । अहिलेसम्म स्वतन्त्र हैसियतमा रहेका उनले राष्ट्रियसभा चुनावपछि एमाले र एसमध्ये जुन पार्टी रोज्छन्, त्यही नै तेस्रो ठूलो दल हुनेछ । उनी स्वतन्त्र नै रहिरहे एमाले र नेकपा एस दुवै ८-८ सीटसहित समान हैसियतमा रहनेछन् ।

राष्ट्रिय सभामा जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदै छ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक-एक सांसद रहेका छन् । अब राष्ट्रपतिले मनोनीत गर्ने एक सिट खाली रहेको छ ।


सम्बन्धित खबरहरु