डब्लूएचओ भन्यो – कोरोना महामारी यो बर्ष अन्त्य हुँदैन

ओकेखबर संवाददाता १८ फाल्गुन २०७७, मंगलवार ११:५४ मा प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्व समुदायले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा पाउन नसक्ने बताएको छ ।

डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिंदै भने, ‘यो वर्ष विश्वबाट कोरोना महामारीको अन्त्य हुनेछ भनेर सोच्नु गलत हुनेछ, तर अस्पताल भर्ना हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी ल्याएर यो त्रासदीबाट बाहिर भने निस्कन भने सकिनेछ ।’ उनले पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट सबैजना सर्तक हुनुपर्ने जिकिर गरे ।

डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमण दर बढेको बताए । उनले यो निकै निराशाजनक अवस्था भएको बताए । धेरै देशहरुमा सामाजिक दुरीमाथिको कडाइ कम गर्दै लगिएका कारण यस्तो भएको हुनसक्ने उनको अनुमान छ । ‘मानिसहरु लापरवाह हुँदैछन्, जसले कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ,’ उनले भने ।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११.४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

उता, अफ्रिकी राष्ट्रहरुमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । डब्लूएचओका अनुसार पश्चिमी अफ्रिकी देश घानालगायतका देशमा खोप अभियान सुरु गरिएको छ । गत हप्ता ती देशहरुमा सिरम इन्सिटिट्यूटको खोप पुगेको एनबिसी न्युजले जनाएको छ ।


सम्बन्धित खबरहरु