काेराेनाविरुद्ध खोप : नेपाललाई प्रतिडोज १२८ रुपैयाँ महँगो !

ओकेखबर संवाददाता १० फाल्गुन २०७७, सोमबार ०८:५३ मा प्रकाशित ( साल अघि) ७८८ पाठक संख्या

काठमाडौं । भारतसँग खरिद गरिएको कोरोना भाइरसविरुद्धको २० लाखमध्ये १० लाख डोज आइतबार नेपाल आइपुगेको छ। एयर इन्डियाको विमानमार्फत् उक्त खोप आइतबार दिउँसो काठमाडौं ल्याइएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिएको छ। त्यहाँबाट प्रदेश हुँदै जिल्लास्थित खोप केन्द्रमा पुर्‍याइनेछ।

त्यासाे त सरकारी अधिकारीहरुले सेरमबाट सरकारले सहुलियतमा खोप पाएको दाबी गरिरहँदा नेपालले किनेको खोप युरोपेली संघ र भारतले खरिद गरेको भन्दा महँगो देखिएको छ।

भारतको लोकसभामा समेत युरोपेली संघको भन्दा भारतले महँगोमा खोप किनेको भन्दै प्रश्न उठेको थियो। अघिल्लो साता त्यसको लिखित जवाफ दिँदै भारतका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री आश्विनीकुमार चौबेले कम्पनीबाट प्रतिडोज २१० भारतीय (३३६ नेपाली) रुपैयाँमा उक्त खोप खरिद गरेको जनाएका थिए।

यही हिसाबले हेर्दा नेपालले भारतको भन्दा १२८ रुपैयाँ महँगोमा खोप खरिद गरेको देखिन्छ। सेरमबाटै २० लाख डोजका लागि भारतले ६७ करोड ४० लाख रुपैयाँ तिर्दा सोही परिमाणको खोपलाई नेपालले भने झन्डै ९३ करोड रुपैयाँ तिरेको छ।

अक्सफोर्ड र एस्ट्राजेनिकाले विकास गरेको यो खोप सरकारले फागुन २३ गतेबाट ५५ वर्षभन्दा माथिका नागरिक, स्थानीय निकायका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेलाई लगाउने तयारी गरेको छ। अहिलेसम्म अस्पतालहरुबाट लगाइएको खोप अब समुदायस्तरमा खोप केन्द्र स्थापना गरेर लगाइने छ ।


सम्बन्धित खबरहरु