नोभेम्बरदेखि चीनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने

ओकेखबर संवाददाता ३० भाद्र २०७७, मंगलवार १२:५६ मा प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

एजेन्सी । चीनले नोभेम्बरदेखि आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको भ्याक्सिन दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रले आफ्ना नागरिकका लागि नोभेम्बरदेखि भ्याक्सिन दिन थाल्ने जनाएको छ । अहिले अत्यावश्यक क्षेत्रका नागरिकका लागि भ्याक्सिन दिइएको छ । जुलाइ २२ तारेखदेखि चीनले अत्यावश्यक क्षेत्रमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरेको थियो ।

चीनको सिडिसीका प्रमुख जैविक सुरक्षा विशेषज्ञ डा.वु गुइजेनले चीनले कोरोनाविरुद्धको भ्याक्सिनमा चीनले ठूलो सफलता प्राप्त गरेको बताएका छन् । उनले खोपको अनुसन्धान र विकासमा चीनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । अहिले संसारभर तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका कोरोनाविरुद्धका ९ वटा भ्याक्सिनमध्ये ५ वटा चिनियाँ कम्पनीका रहेका छन् ।

 

सिडिसी प्रमुख गुइजेनले भनेका छन्, ‘हामीले नोभेम्बरदेखि खोपलाई आम मानिसका लागि दिन थाल्नेछौँ । ढिलो भएमा पनि डिसेम्बरको सुरुवातमा हामीले खोप दिनेगरी सबै तयारी पूरा गरेका छौँ । क्लिनिकल परीक्षणहरु सबै सफलताको नजिक पुगेका छन् । हामी सबैभन्दा अगाडि बढ्ने छौँ ।’

डा. गुइजेनले पनि अप्रिल महिनामा एक स्वयंम् सेवकको रुपमा खोप लगाएका थिए । उनी भन्छन्, ‘मलाई अप्रिल महिनामा एउटा स्वयंम् सेवकको रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको थियो । मेरो स्वास्थ्य राम्रो छ । यो खोपले ३ वर्षसम्म प्रभावकारीरुपमा काम गर्छ ।’

 

ग्लोबल टाइम्सका अनुसार केन्द्रीय स्वास्थ्य आयोग र मातहतका विभिन्न निकायले अहिले भ्याक्सिनका अध्ययन गरिरहेका छन् । डा. गुइजेन भन्छन्, ‘कोरोना भाइरस उच्च जोखिमयुक्त भाइरस हो । कोरोनाविरुद्धको भ्याक्सिन पनि नकरात्मक वातावरणमा उत्पादन गर्न आवश्यक हुन्छ । अहिले विभिन्न विषयमा गहन अध्ययन तथा कार्यशालाहरु भइरहेका छन् । समीक्षा सकिएपछि अनुमोदन हुनुपर्छ । अहिलेसम्म भएका मूल्याङ्कन सफलतातर्फ छन् । तेस्रो चरणको परीक्षणपछि हामी जनतालाई ढुक्कले कोरोनाविरुद्धको भ्याक्सिन दिन सक्षम हुनेछौँ ।’


सम्बन्धित खबरहरु